१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रियल उपाधि होडमै

नेपालब्रिटेन संवाददाता
६ असार २०७७, शनिबार ०५:४७

मड्रिड । भेट्रान फरवार्ड करिम बेन्जेमाको कीर्तिमानी दुई गोल सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सहज जित निकाल्दै उपाधि दाबेदारीलाई जीवितै राखेको छ । रियलले घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बिहीबार राति भएको खेलमा भ्यालेन्सियामाथि ३–० को सहज जित निकालेको हो ।

रियलको जितमा बेन्जेमाले कीर्तिमानी दुई गोल गर्दा झन्डै एक वर्षपछि चोटबाट पुनरागमन गर्दै मैदान फर्किएका मार्काे एसेन्सियोले एक गोल थपे । भ्यालेन्सियाविरुद्ध दुई गोल गरेका बेन्जेमा रियलबाट सर्वाधिक गोल गर्नेको सूचीमा पाँचांै स्थानमा उक्लिएका छन् । उनले फेरेन्क पुस्कासलाई एक गोलले पछि पारेको हो । बेन्जेमामा रियलबाट सबै खेलमा कुल २ सय ४३ गोल गरे । पुस्कासले २ सय ४२ गोल गरेका छन् ।

रियलबाट सर्वाधिक गोल गर्ने सूचीको शीर्ष चारमा क्रिस्टियानो रोनाल्डो (४५०), राहुल (३२३), अल्फ्रेडो डि स्टेफानो (३०८) र सान्टिललाना (२९०) गोल रहेका छन् । ३२ वर्षे फ्रेन्च फरवार्ड बेन्जेमाले यो सिजन ला लिगामा १६ गोल गर्दा सबै खेलमा २१ गोल गरेका छन् । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा रियलले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भएको थियो । खेलको १०औं मिनेटमा करिम बेन्जेमाको प्रहारलाई भ्यालेन्सियाका गोलरक्षक जास्पर सिलेसेनले बचाए । लगत्तै बेन्जेमाको पासमा इडेन हजार्डको प्रहारलाई सिलेसेनले उत्कृष्ट डाइभ दिँदै विफल पारे । १६औं मिनेटमा पाहुना टोली भ्यालेन्सिया अग्रता लिनबाट चुक्यो । रोड्रिगोले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहार रियलका गोलरक्षक थिवाउट कोर्टुवालाई लाग्दै पोस्टमा लाग्दै बाहिरिएको थियो ।

२१औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोग लिँदै त्यसलाई मान्यता दिएनन् । कार्लोस सोलेरको पासमा रोड्रिगोले प्रहार गर्नुअघि अफसाइडमा रहेका म्याक्सिमिलियानो गोमेजले बल छोएको थियो । २९औं मिनेटमा ड्यानी कार्भाहल पेनाल्टी क्षेत्रभित्र वान भर्सेस वानको अवस्थामा रहे पनि सिलेसेनले राम्रो बचाउ गरे । ४३औं मिनेटमा भ्यालेन्सियाका जिओफ्री कोन्डोग्बियाले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक कोर्टुवाले सुन्दर बचाउ गरे । इन्ज्युरी समयमा हजार्डले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षकले सहजै बचाए ।

६१औं मिनेटमा रियलले बेन्जेमाको गोलमा अग्रता लियो । हजार्डले भ्यालेन्सियाका केभिन गेमेरियोको ब्याक पासलाई नियन्त्रणमा लिँदै लुका मोड्रिच साग वान टु वान खेल्दै मिलाइदिएको पासमा बेन्जेमाले उत्कृष्ट गोल गरे । त्यसको दुई मिनेटपछि नै बेन्जेमाको पासमा हजार्डले पेनाल्टी बक्स भित्रबाट हतारमा गरेको प्रहार आकासिदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । ७४औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई २–० ले अघि बढाए । सब्सिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेको ३० सेकेन्ड पनि नबित्दै एसेन्सियोले फरल्यान्ड मेन्डीको क्रस पासलाई वान टचमै हाफ भलीमा गोल गरे ।

उनी फेडरिको भाल्भेर्डेको स्थानमा मैदान छिरेका थिए । ८७औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे । एसेन्सियोको क्रसलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रणमा लिँदै दोस्रो टचमा गरेको शक्तिशाली प्रहारले दर्शनीय रूपमा जाली चुम्दा सेलेसनले रोक्ने कुनै अवसर नै पाएन । बेन्जेमाको दोस्रो गोललाई यो सिजनकै गोल अफ दि सिजनको दाबेदारका रूपमा हेरिएको छ । बेन्जेमाको दोस्रो गोलमा प्रशिक्षक जिनेदिन जिदान नै आश्चर्यमा परेका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा भ्यालेन्सिया १० खेलाडीमा समेटियो । रियलका कप्तान सर्जियो रामोसलाई फउल गरेपछि कोरियन मिडफिल्डर काङ इन लिलाई रेफ्री जोसे सान्चेजले सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए ।

७६औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका काङले रामोससँग बल खोस्ने क्रममा लगातार तीनपटक खुट्टामा अनावश्यक प्रहार गरेका थिए । यो जितसँगै रियलले पुनः शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी २ मा छोट्याएको छ । रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले ६४ अंक छ । भ्यालेन्सिया ४३ अंक जोडेर आठौं स्थानमा यथावत् छ ।

यस्तै, अर्काे खेलमा डिपोर्टिभो एलाभेससँग २–० ले पराजित भएसँगै रियल सोसिडाडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ । एलाभेसविरुद्ध जित निकाल्न सकेको भए सोसिडाडले एट्लेटिको म्याड्रिड र गेटाफेलाई पछि पार्दै शीर्ष चारमा स्थान बनाउने थियो । तर, रियल सोसिडाडले खेल आफ्नो पक्षमा पार्न सकेन । हारसँगै रियल सोसिडाड २९ खेलबाट ४७ अंक जोडेर छैटौं स्थानमा छ । एलाभेस ३५ अंक जोडेर १२औं स्थानमा उक्लिन सफल भएको छ । एलाभेसका सेइन्ज र मार्टिनले गोल गरे । खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो ।