११ बैशाख २०८१, मंगलवार
Follow Us

२ लाख रुपैयाँ पुरस्कार राशिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना

नेपालब्रिटेन डट कम्
७ असार २०७७, आईतवार २३:३२

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशिको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। शनिबार सम्पन्न समितिको बैठकले पुरस्कारका लागि आवश्यक नीति,नियमावली र स्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सह-अध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिएको छ।

प्रवासमा रहेका गैर आवासीय नेपालीहरुले प्रकाशन गरेको उत्कृष्ट कृतिलाई नगद राशिसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गरिने संयोजक पन्तले जानकारी दिए। पुरस्कारका संयोजक पन्तले पाँच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी गराएका छन्।

समितिका अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको शनिबारको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रुपमा मनाउन विश्वका सबै नेपाली भाषा, साहित्यसँग सम्बन्धित संघ-संस्था र साहित्यप्रेमीहरुलाई आह्वान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ। भानु जयन्ती असार २९ गते पर्दछ।

समितिको दोस्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल (अमेरिका) लाई समितिको संचार संयोजक मनोनित गरेको छ। यसैगरी समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाइन साहित्यिक कार्यक्रम ‘प्रवास-प्रवाह’को सह-संयोजकमा समितिका सदस्य नृपेश उप्रेती (बेलायत) र सदस्यहरुमा विकास विष्ट (अमेरिका) र निमेष गिरि (युएइ)लाई मनोनयन गरेको छ। दुई महिना पहिले (अप्रिल) मा गठन भएको यो समितिको गत महिना सम्पन्न पहिलो बैठकले गैर आवासीय नेपाली नियात्रा संग्रह, गजल संग्रह र प्रवासमा रहेका नेपाली लेखक/साहित्यकारहरुको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ। यी विषयमा पनि समितिको दोस्रो बैठकमा हालसम्म भएका उपलब्धिबारे समीक्षा र छलफल भएको थियो।

बैठकमा विशेष आमन्त्रितका रुपमा सहभागी भएका समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले विदेशमा नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्न मिलेर जानुपर्नेमा जोड दिए। उनले प्रज्ञा प्रतिष्ठान संघले गर्ने सबै कार्यक्रमहरुलाई सहयोग गर्न तयार रहेको बताए।

त्यसैगरी बैठकमा समितिका सल्लाहकार एवं संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सन २०१३ मा संघ र प्रज्ञा प्रतिष्ठानबीच भएको सहमतिअनुसार प्रवासमा नेपाली साहित्यको प्रवर्द्धनका लागि अगाडि बढाउनु पर्नेमा जोड दिए। बैठकमा समितिका सल्लाहकार रमेश पौडेल (नेपाल), सहअध्यक्षहरु महेश्वर पन्त (अमेरिका), हरि पौडेल (युरोप), बेलु काजी थापा (एसिया) र निश्चल पि एस लिम्बू (मध्यपूर्व) को उपस्थिति रहेको एनआरएन आइसीसी, नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका मिडिया संयोजक गौतम दाहालले बताएका छन्।

कार्यक्रममा सदस्यहरु तीर्थ सङ्गम राई (कतार), नृपेश उप्रेती (बेलायत ), कृष्ण कुसुम (अमेरिका) र गौतम दाहाल (अमेरिका) को सहभागिता रहेको थियो । बैठकको संचालन सदस्य सचिव भगवती बस्नेतले गरेकी थिइन्।