१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ९२ लाख २० हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
१० असार २०७७, बुधबार ०३:४६

जुरिच । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ लाख २० हजार नाघेको छ । संक्रमणबाट ४ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २३ लाख ८८ हजार नाघेको छ । त्यहाँ १ लाख २२ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ ।

त्यहाँ संक्रमितको संख्या ११ लाख १३ हजार नाघेको छ भने ५१ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ६ लाख नाघेको छ भने ८ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै भारतमा संक्रमितको संख्या ४ लाख ४१ हजार नाघेको छ भने १४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४२ हजार ६ सय, इटलीमा ३४ हजार ६ सय, स्पेनमा २८ हजार ३ सय र फ्रान्समा २९ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४९ लाख ६५ हजार नाघेको छ ।