६ बैशाख २०८१, बिहीबार
Follow Us

राईको उपचारमा बोहोराको सहयोग

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार ०३:३९

काठमाडौं । नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्वखेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन् ।

कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी अक्कलबहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्चमार्फत बुधबार हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले प्रशिक्षक नरकुमार राईलाई बुधबार रकम हस्तान्तर गरेका हुन् । उनकी ११ वर्षीया छोरी कसुमी राईलाई ब्लड क्यान्सर रोगले पीडित छिन् र हाल उनी महाराजगन्जस्थित कान्ति बाल हस्पिटलमा उपचाररत छिन् ।

एपीएफबाट खेल्ने म्याराथन धावक अक्कलबहादुर बोहोराले यसअघि पनि समस्यामा परेका थुप्रै नेपालीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।

उनको सहयोगका लागि कोस्टाब्लान्का समाजका सदस्यहरू बोहोरा अलावा ब िकोइराला, सुरज बानियाँ, सुवास सापकोटा, विपिन बुढाथोकी, शिव नेपाल, दिनेश सापकोटा, नवराज दुवाडी, सन्तोष अर्याल, एकबहादुर भट्ट, प्रकाश तिवारी रहेका छन् ।
प्रशिक्षक राईले सहयोग गर्ने नेपाल स्पेन कोस्टाब्लान्का समाजलाई धन्यवाद दिएका छन् । उनले हालसम्म छोरीको उपचार १४ लाख रुपैंया खर्च भइसकेको र पूर्ण रूपमा ठीक गर्न अझै रकम अभाव भएको बताएका छन् ।

उनले आर्थिक अवस्था कमजोर रहेको कारण छोरीको उपचारमा सहयोग गरिदिन सबै समक्ष अपिल गरेका छन् । ‘नरे दाइ’को नामले चर्चित राई २०६२ सालदेखि २०६८ सालसम्म एपीएफबाट खेलेका हुन् । राइट डिफेन्सबाट खेल्ने राईको पालामा एपीएफले पाँचौं स्थानसम्म उक्लिन सफल भएको थियो ।

खेलाडी जीवनमा सक्रिय छदै उनले २०६४ सालबाट महिला टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए । २०७३ साल रिटायर्ड हुँदासम्म उनले महिला फुटबलको जिम्मेवारी सम्हाले ।

अहिलेका चर्चित खेलाडीहरू सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बु, अनिता केसी, मन्जली योञ्जन, एन्जिला तुम्बापोजस्ता खेलाडीहरू राईको प्रशिक्षणमा हुर्केका हुन् । जागिरे जीवनपछि पैसा कमाउन राई बहराइन गएका थिए । त्यहाँ २१ महिना काम गरिरहँदा छोरीलाई क्यान्सर भएपछि उनी फर्किएका छन् ।