१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘चीनसँग नेपालको सीमा विवाद छैन’

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार १५:०९

काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै चीनसँग सीमा विवाद नभएको स्पष्ट पारेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा सञ्चारमाध्यममा सीमा विवाद सम्वन्धी समाचार आएपनि त्यसमा सत्यता नरहेको परराष्ट्रको भनाइ छ ।

चीनले नेपालको उत्तरी सिमामा कैयौं हेक्टर भुभाग अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि परराष्ट्रले त्यसको खण्डन गरेको हो । कृषि मन्त्रालयको भनेर प्रकाशित प्रतिवेदन अस्तित्वमा नै नरहेको पनि परराष्ट्रले जनाएको छ । कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको पनि परराष्ट्र मन्त्रालयले बताएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले स्पष्ट पारेको छ ।