१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्यानद्वारा प्रशिक्षणको अनुमति माग

नेपालब्रिटेन संवाददाता
१२ असार २०७७, शुक्रबार ०३:५४

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्सँग अनुमति माग गरेको छ । असारबाट नै पूर्ण सावधानी अपनाएर प्रशिक्षण सुरु गर्नका लागि उसले राखेपसँग अनुमति माग गरेको हो । तथापि, खेलाडीको पीसीआर परीक्षण गर्ने विषयमा भने कुनै निर्णय भएको देखिँदैन ।

प्रशिक्षण सुरु गर्नुअघि अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । तर, क्यानले भने असार अन्तिमबाट प्रशिक्षण सुरु गर्नेगरी राष्ट्रिय खेलकुद परिषद्मा पत्राचारसमेत गरिसकेको छ । राखेपले अनुमति दिएपछि मात्र क्यानले प्रशिक्षण सुरु गर्नेछ । खेलाडीको पीसीआर परीक्षण कसले गर्ने भन्ने टुंगो भने लागेको छैन । क्यान, राष्ट्रिय खेलकुद परिषद् वा सरकारमध्ये एकले खेलाडीको पीसीआर परीक्षण गरेपछि मात्र प्रशिक्षण सुरु गरिनेछ ।

त्यसैले, क्यानले अनुमति माग गरेकै खण्डमा मात्र प्रशिक्षण सुरु हुने अवस्था नरहेको क्यानका एक पदाधिकारीले बताए । कतिपय खेलाडीले कीर्तिपुरमा रहेको इन्डोरमा प्रशिक्षण गर्न थालेको बताइएको छ । ११ चैतबाट देशभर लकडाउन भएपछि खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । खेलाडीलाई समूह र समय विभाजन गरेर प्रशिक्षण गर्ने खाकासमेत तयार गरिएको छ ।

राजधानी दैनिकबाट