१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मलाई पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेका छन् : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार १२:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सच्याए वापत् आफूलाई पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको बताएका छन् । मदन भण्डारी फाउण्डेसनद्वारा आज बालुवाटारमा आयोजित कार्यक्रममा उनले नक्सा छापे वापत प्रधानमन्त्रीबाट हटाउने नसोच्न चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के–के भइरहेको छ भन्ने देखाइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ति नगरेको’ पनि स्पष्ट पारे । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए ।

भारतले नबनाऊ भन्दा भन्दै संविधान बनाएको र त्यसकै कारण नाकाबन्दीको सामना गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतवेष्ठित र खुम्चिएको रहेको परिस्थितिलाई आफुले परिवर्तन गर्न खोजेको समेत बताए ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा चीनसँग पारवहन सम्झौता गरेपछि पहिलो कार्यकालमा हटाइएको स्मरण समेत गरे । यातायात र पारवहनमा एक देशबाट मात्रै छेकिएर बस्नु पर्दैन भनेर आफुले चीनसँग यातायात तथा पारवहन सन्धि गरेको उनको भनाइ छ ।

सो सम्झौताले नेपाललाई नयाँ उचाइमा पुर्‍याएको प्रधानमन्त्री ओलीले दावी गरे । प्रधानमन्त्री ओलीले साम्प्रादायिकताका आधारमा विग्रह पैदा गर्नेहरुलाई मदन भण्डारीले एकतामा बदल्ने प्रयास गरेको र त्यही विचारबाट चलेको पार्टीलाई कमजोर नआक्न सुझाव दिए ।