६ बैशाख २०८१, बिहीबार
Follow Us

नर्वेमा रहेका नेपालीले डोटीमा गरे आर्थिक सहयोग

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार ०५:२४

नर्वेमा बसोबास गर्दै आएका नेपालीले जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । डोटी जिल्लामा रहेका नागरिकलाई क्वारेन्टिनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पु-याउन उनीहरुले रु दुई लाख ३० हजार रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् ।

जिल्लाको केआइसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीयवासी तथा नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जीतेन्द्र शाहीको पहलमा उक्त रकम सङ्कलन गरी जिल्लामा पठाइएको हो । ‘स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग’ अभियानमा नर्वेमा बसोबास गर्दै आएका नागरिकले स्वःस्फूर्तरूपमा प्रदान गरेको रकम डोटी जिल्लामा पठाइएको शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा स्वास्थ्य सामग्री किन्न समस्या भएको खबर हामीले पायौँ, सबै साथीको सहयोगमा रकम सङ्कलन गरी पठाएका छौँ, आशा छ हाम्रो सहयोगले केही सहज हुने छ ।”

नर्वेबाट प्राप्त उक्त सहयोगले जिल्लामा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा समस्या भएका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । केआइसिंह गाउँपालिका, शिखर नगरपालिकाको वडा नं १ र २ तथा सायल गाउँपालिका–२ को क्वारेन्टिनमा बसेका व्यक्तिलाई स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । भारतबाट दैनिक हजारौँको सङ्ख्यामा नपाली स्वदेश फर्किन थालेपछि स्थानीय सरकारलाई स्वास्थ्यदेखि क्वारेन्टिन व्यवस्थापन गर्न निकै कठिन भएको अवस्थामा प्राप्त सहयोगले निकै सहज भएको सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताउनुभयो ।

नर्वेबाट आएको आर्थिक सहयोगले यहाँका क्वारेन्टिनमा बसेका व्यक्तिलाई सर्जिकल मास्क, नुहाउने र लुगा धुने साबुनलगायतका सामग्री खरिद गरी हस्तान्तरण गर्न लागिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिनुभयो ।