July 5, 2020
3:03 AM | 7:48 AM

एनआरएनएमा डिजिटल परिचयपत्र वितरण सुरु

  29th June 2020 मा प्रकाशित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको घोषणा गरेको दुई महिना नहुदैं डिजिटल परिचयपत्र वितरण सुरु भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार पहिलो चरणमा गैरआवासीय नेपाली संघ अमेरिकाका राष्ट्रिय समन्वय परिषदबाट सो परिचयपत्र वितरण सुरु भएको हो । गैरआवासीय नेपाली संघले चरणबद्ध रुपमा अन्य देशमा पनि परिचयपत्र योजनाबद्ध तरिकाले वितरण गर्ने योजना बनाएको छ । नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरुको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्छ ।

टेण्डरमार्फत नेपालको एक कम्पनीलाई यसको जिम्मा दिइएको संघका महासचिव डा. हेमराज शर्माले जनाए । उक्त कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको स्मार्ट एनआरएनए कमिटीसँग संयोजन गरेर काम गर्नेछ । संघ नयाँ ईरामा प्रवेश गरेको छ भने संघलाई समयसापेक्ष विकास गर्न यो प्रोजेक्ट कोषे ढुङ्गा हुने संघले जनाएको छ ।

स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ । सदस्यता फाराम आ–आफ्नो मोबाइलबाट भर्न सकिने छ भने पहिलेको एमआईएस पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ ।

यसैगरी संघका सम्पूर्ण गतिविधि मोबाइल एप्सबाट प्राप्त गर्न सकिनेछ । सदस्यहरुले आ–आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्ने छन् । प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ भने संघका बिभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतीबाट गर्न सकिनेछ ।

सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट व्यवस्था गरिनेछ । सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग गर्न सक्ने छन् भने निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैंन ।

हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाइटको व्यवस्था गरिनेछ । वेभसाईटमा एकरुपता ल्याइनेछ भने आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिनेछ । संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्ररी तयार गरिने संयोजक जोशीले बताए ।

प्रतिक्रिया