१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा आज ४ सय ७६ जना संक्रमित थपिए, काठमाडौंमा ८ जनामा

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार १२:२९

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो । ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । आइसियुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको हिजोमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो । तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

सोमबार नेपालमा ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमा महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेको प्रवक्ता डा. गौतमले बताए ।

सरकारले आफ्नो लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन सकेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो । यद्यपि सोमबार विगत दिनभन्दा सबैभन्दा बढी ७ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् ।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन् । सोमबार १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्दै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । अहिले सडकहरुमा हिडडुल गर्नेहरुको भिड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भीडभाड भएको कुराहरु देख्न थालेको प्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको गतिविधिप्रति मन्त्रालयले गम्भिर चिन्ता व्यक्त गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा छ जना तथा ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यका लगायत घनाबस्तीमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेकाले विना काम घरबाट बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।