१५ बैशाख २०८१, शनिबार
Follow Us

सात वटै प्रदेशमा एनआरएनए यूकेले अक्सिजन मेसिन सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१५ असार २०७७, सोमबार १३:१९

लण्डन । एनआरएनए यूकेले नेपालका सात वटै प्रदेशमा अक्सिजन मेसिन सहयोग गर्ने भएको छ ।

आइतबार सम्पन्न कार्यसमितिको अनलाइन बैठकले कोभिड १९ विरुद्धको लडाईंमा सहयोग गर्ने उद्धेश्यले हरेक प्रदेशमा दुई वटा अक्सिजन मेसिन प्रदान गर्ने निर्णय गरेको हो । सहयोगको संयोजन गर्ने जिम्मा अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र स्वास्थ्य विभाग संयोजक डा सुनिल शाहलाई लगाइएको छ ।

बैठकले कोरोना प्रभावित नेपालीको सहयोगार्थ सञ्चालन गरिएको कोष संकलनको अभियानको पहिलो चरणलाई जुलाई पहिलो सातादेखि बन्द गर्ने निर्णय पनि गरेको छ । कोष संकलन रोकिएसंगै सहयोग अभियान पनि यो चरणका लागि समापन हुने बताइएको छ ।

एनआरएनए यूकेलाई च्यारिटीमा दर्ता गर्ने भनी यसअघि गरिएको निर्णयलाई सदर गर्दै यससम्बन्धी प्रक्रिया अघि बढाउने जिम्मा उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक सुनिलबाबु खड्कालाई दिइएको छ । आवश्यकताअनुसार उनको संयोजकत्वमा समिति निर्माण समेत गरिनेछ ।

बैठकले कोरोना संक्रमणबाट बेलायतमै निधन भएका भक्त दमाईको परिवारलाई ५ सय पाउण्ड सहयोग गर्ने तथा सहयोगको याचना गरेका अन्य तीन मृतकको परिवारबाट आवश्यक विवरण उपलब्ध भएपछि सहयोग गर्ने निर्णय गरेको छ ।

एनआरएनए यूकेले आयोजना गरेका चित्रकला प्रतियोगिताको लागि प्राप्त ६४ जना बालबालिकाको चित्रकलालाई दस्तावेजको रुपमा पुस्तिकामा प्रकाशन गरिने भएको छ । प्रतियोगिताको नतिजा र पुरस्कार वितरण आउँदो बालदिवसमा गरिनेछ ।

बैठकले कोभिड १९ को नेपाली महिलामाथि प्रभाव विषयमा वेबिनार सम्मेलन गर्ने उपाध्यक्ष रोजिन प्रधान राईको प्रस्तावलाई स्वीकृत गरेको छ ।

अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा आइसीसी सदस्यहरु सुशिला राई, दयानिधी सापकोटा, रामशरण सिम्खडा, अर्कराज तिम्सिना, योगकुमार फगामीसहित कार्यसमितिका २३ जना पदाधिकारी तथा सदस्य सहभागी थिए ।

बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोका मगरले आर्थिक अपडेट गराएका थिए भने कोभिड १९ सहयोग संकलन समितिका संयोजक एवम् इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले कोष संकलन अभियानको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

बैठकमा विभिन्न विभागका संयोजक रहेका उपाध्यक्षहरु प्रेम गाहा मगर, सुलिबाबु खड्का, रोजिना प्रधान राई, नारायण कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की लगायतले आ-आफ्नो विभागको अपडेट गराएका थिए ।हेल्पलाइनका संयोजक सचिवद्धय जीत रानाभाट र कोशलेश्वर ढकाल तथा कार्यसमिति सदस्य हेम गुरुङले हेल्पलाइनबारे अपडेट प्रस्तुत गरेका थिए ।

बैठकले कोभिड १९ सहयोग अभियानमा योगदान गर्ने सिंगो कार्यसमितिका पदाधिकारी, विभिन्न विभागका संयोजक एवम् सदस्यहरु, हेल्पलाइन टीम, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, सल्लाहकारहरु लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

साथै, नेप्लिज नर्सिङ एशोसिएसन यूके, नेप्लिज डक्टर्स एशोसिएसन यूकेसहित सबै संस्था, सहयोगदाता तथा समुदायप्रति आभार प्रकट गरिएको छ ।