१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्वर्ण पदक बिजेता गौरिकाद्वारा डडेल्धुरामा पीसीआर मेसिन किन्न आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
१५ असार २०७७, सोमबार १८:२८

डडेल्धुरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चार स्वर्ण पदक दिलाउने गौरिका सिंहले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख रुपैया सहयोग गरेकी छन् ।

पौडीमा किर्तिमान कायम गरेकी गौरिकाले सुदूर पश्चिमको डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि गौरिकाले हजुरबुवा लोकभक्त राणा मार्फत एक लाख रुपैया सहयोग गरेकी हुन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनका लागि काठमाण्डौंमा सहयोग संकलन अभियान सञ्चालन गर्दै आएका ओलम्पियन तथा किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद (राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटालाई गौरिकाका हजुरबुवा राणाले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

अन्तर्राष्ट्रिय पौडी खेलाडी गौरिकाले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेकोले डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि थालिएको अभियानमा सहयोग गरेको बताईन ।

किर्तिमानी तेक्वान्दो खेलाडी बिष्टले गौरिकाको सहयोगले देशको नाम र पहिचानका लागि खेल्ने खेलाडीहरुले आवश्यक पर्दा नागरिकको स्वास्थ्यका लागि पनि सहयोग गर्न पछि नहट्ने सन्देश दिएको बताए ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा शुरु भएको अभियानमा विश्वका बिभिन्न मुलुकमा सुदूर पश्चिमेली तथा सुदूर पश्चिम समाजहरुले सहयोग गर्ने क्रम जारी छ ।

काठमाण्डौंमा ह्युमानिटी फाउण्डसेनका संस्थापक अमर बहादुर शाहीको नेतृत्वमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद (राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थी लगायतले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन गर्दै आएका छन् ।