१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती संसदमा एक महिला सांसदको व्यथा सुनेर रुवाबासी

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७३, शुक्रबार १२:१५

लन्डन । बेलायतकी एक महिला सांसदले त्यहाँको संसदमा आफ्नो व्यथा सुनाएपछि संसदमै रुवाबासी भएको छ । स्कटिश सांसद मिशेल थम्सनले बेलायतको तल्लो सदन (हाउस अफ कमन्स) मा आफूले बाल्यकालमै भोगेको यौन हिंसा सुनाएकी थिइन् । उनको कुरा सुनेपछि सभामुखसहित सांसदहरु रोएका हुन् ।

सांसद थम्सनका अनुसार उनी १४ वर्षको छँदा एक निकतस्थले उनलाई बलात्कार गरेका थिए । महिलाविरुद्धको हिंसा समाप्त गर्न संयुक्त राष्ट्रसंघका तर्फबाट घोषित अन्तर्राष्ट्रिय दिवसका अवसरमा सांसदमा भएको छलफलमा उनले आफ्नो व्यथा सुनाएकी हुन् ।

उनले संसदमा आफ्ना कुरा राखिरहँदा स्कटिश नेशनल पार्टीका सांसदहरुले उनलाई सान्त्वना दिएका थिए । उनले आफ्नो व्यथा सुनाइरहँदा सभामुख जोन बर्को निकै भावुक भए । संसदमा उपस्थित लगभग सबै सांसद उनको कुरा सुनेर रोएका थिए ।

उनले भनिन्, ‘युवाहरुको एक कार्यक्रम सकिएपछि त्यो मान्छेले मलाई घरसम्म लगिदिने भन्यो, जो कि सामान्य कुरा थियो । साँझको बेला थियो, तर अँध्यारो भइसकेको थिएन, मैले जिन्स र टिशर्ट लगाएकी थिएँ ।’

बाटोमा आफूले केही गलत हुँदैछ भन्ने महसुस गरेको उनले बताइन् । उनका अनुसार त्यो मान्छेले उनको घरजाने बाटो नभएर अर्कै बाटो लगिरहेको थियो ।

‘उसले मलाई केही देखाउनु छ भनेर अर्कै बाटो लगिरहेको थियो, साँच्चै भन्ने हो भने मलाई त्यतिबेला बलात्कार के हो भन्ने पनि थाहा थिएन,’ उनले भनिन्, ‘म भाग्न सक्दिन थिएँ, किनकि ऊ मभन्दा शक्तिशाली थियो ।’