७ बैशाख २०८१, शुक्रबार
Follow Us

खल्तीमा राजीनामा बोकेका मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भने, अप्ठेरो परे हामी राजीनामा दिन्छौं

नेपालब्रिटेन संवाददाता
१७ असार २०७७, बुधबार ०६:४२

काठमाडौं । केही मुख्य मन्त्री र स्थायी समितिमा रहेका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले पार्टीको निर्णय अनुसार अघि बढन सुझाव दिएका हुन् ।

स्थायी कमिटी बैठकमा राजीनामा माग भएपछिको परिस्थितिबारे छलफल गर्नका लागि बोलाइएको बैठकमा केही मन्त्री, केही स्थायी समिति सदस्य र दुई जना मुख्यमन्त्रीहरुले यस्तो सुझाव दिएका हुन् । सत्तारुढ नेकपाको जारी स्थायी समिति बैठकमा मंगलबार शीर्ष नेताहरुसहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागपछि प्रधानमन्त्रीले मन्त्री र आफु निकट नेतासँग परामर्श गरेका हुन् ।

छलफलमा केही मन्त्रीहरुले प्रधानमन्त्रीलाई अप्ठेरो परेमा आफुहरु राजीनामाका लागि समेत तयार भएको जानकारी गराएको बुझिएको छ । छलफलमा सुवास नेम्वाङ, लेखराज भट्ट लगायतका नेताहरुले पनि पार्टी एकताका लागि फराकिलो सोच राख्न आग्रह गरेका थिए ।

यसैबीच नेकपाको स्थायी समितिको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठक पनि सरकारको काम र प्रधानमन्त्रीको राजीनामा केन्द्रित हुने नेताहरुले बताएका छन् ।