७ बैशाख २०८१, शुक्रबार
Follow Us

अष्ट्रेलियामा ३६ क्षेत्रमा लकडाउन

नेपालब्रिटेन डट कम्
१८ असार २०७७, बिहीबार ०५:२९

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेसँगै मेलबर्नका तीन लाखभन्दा धेरै मानिसको बसोबास रहेको उपनगरहरुमा लकडाउनको घोषणा गरिएको छ । बुधबार मध्यरातदेखि लागु हुने गरी उक्त क्षेत्रमा पुनः लकडाउनको निर्णय गरिएको हो । यो लकडाउन चार सातासम्म जारी रहनेछ ।

बुधबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७३ नयाँ संक्रमित फेला परेका थिए । अष्ट्रेलियाको दोस्रो सबैभन्दा धेरै मानिसको बसोबास रहेको राज्यमा दुई सातायता निरन्तर कोरोना भाइरसका नयाँ संक्रमितको संख्या दोहोरो अंकमा देखिएको छ ।

भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुले संक्रमण दर पछिल्लो समय स्थिर देखिएको पनि उल्लेख गरे । उनले अहिले लकडाउन गरिएको क्षेत्रका सबै मानिसहरुलाई लकडाउनको नियम पालना गर्न आग्रह गरेका छन् । उनले सबै मानिसहरु मिलेर अबको चार सातामा अष्ट्रेलियामा कोरोना भाइरसको सामुदायिक संक्रमण रोक्न सकिने उनको भनाइ छ ।

अष्ट्रेलियाको केही राज्यले भिक्टोरियाका नागरिकलाई आफ्नो राज्यमा प्रवेशको लागि रोक लगाएका छन् । भिक्टोरियाबाहेकका राज्यमा भने खासै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छैनन् । अहिलेसम्म अष्ट्रेलियामा सात हजार आठसयभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने १०४ जनाको मृत्यु भइसकेको छ ।