२६ बैशाख २०८१, बुधबार
Follow Us

चेल्सी र लेष्टर सिटीको अप्रत्याशित हार

नेपालब्रिटेन संवाददाता
१८ असार २०७७, बिहीबार ०५:४६

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेष्टर सिटीले अप्रत्याशित हार व्यहोरेका छन् । तालिकाको चौथो स्थानमा रहेको चेल्सीलाई गएराति वेष्ट ह्याम युनाईटेडले ३–२ ले पराजित गर्‍यो ।

लण्डन डर्बीमा वेष्ट ह्यामलाई विजयी गराउन टामस सौचेक, मिचेल एन्टोनियो र आन्द्रे यार्मोलेन्कोले एक एक गोल गरे । चेल्सीका लागि दुबै गोल ब्राजिलियन खेलाडी विलियनले गरे । यो हारसँगै चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीलाई उछिन्ने अवसर गुमाएको छ ।

गएराति भएको खेलमा लेष्टर सिटी पनि एभर्टनसँग २–१ ले पराजित भयो । प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनलले नरिच सिटीलाई ४–० ले पाखा लगायो । आर्सनलका लागि पियरे एमरिक औबामायङ्गले दुई गोल गर्दा ग्रानिट झाका र सौद्रिक सौरेसले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा न्युकासल युनाईटेडले बर्नमाउथलाई ४–१ ले पाखा लगायो । गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा तेस्रो स्थानको लेष्टर सिटी र चौथो स्थानको चेल्सीबिच १ अंकको दुरी कायमै छ ।

लेष्टरको ३२ खेलबाट ५५ अंक छ भने समान खेलबाट चेल्सीको ५४ अंक छ । एक खेल कम खेलेको च्याम्पियन लिभरपुलको ८६ अंक रहँदा ६३ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।