१२ बैशाख २०८१, बुधबार
Follow Us

सरकारले विदेशी पासपोर्ट लिएका नेपालीलाई स्वदेश फर्किन बाटो खोल्यो

नेपालब्रिटेन डट कम्
१८ असार २०७७, बिहीबार १४:५१

अप्ठ्यारोमा परे सम्पर्क गर्नु : लण्डन दुतावास

लण्डन । सरकारले विदेशी राहदानीबाहक गैर आवासीय नेपालीहरुलाई नेपाल जना स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को विहीवार बसेको बैठकले ‘नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानीबाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानीबाहक पति वा पत्नी र स्वदेशमा आफन्तको काजकिरिया गर्न आउनुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई सम्बन्धित नेपाली नियोगको सिफारिसमा नेपाल आउन’ स्वीकृति दिने निर्णय गरेको हो।

सरकारको पछिल्लो निर्णयले विदेशबाट आफन्तको काजकिरिया गर्न जानुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई नेपाल फर्किन सजिलो हुने भएको छ ।

नेपाली दुतावास लण्डनका प्रवक्ता शरदराज आरणले सरकारको वेलायतबाट नेपाल आफ्न्तको लागि काजकिरिया गर्न जान चाहनेहरुले दुतावासमा सम्पर्क गर्न सक्ने बताए ।

उनले यसअघि पनि परराष्ट्र मन्त्रालयको सिफारीशमा केही अप्ठ्यारोमा परेका नेपाली मुलका विदेशी राहादनी लिएका गैर आवासीय नेपालीहरुलाई नेपाल पठाउन दुतावासले सहजिकरण गरेको जानकारी दिए ।

सरकारको पछिल्लो निर्णय निकै सकरात्मक भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले वताए ।

कोरोना भाइरसका कारणले विदेशमा कुनै पनि नेपाली अप्ठ्यारोमा पर्नु हुदैन् र उनीहरुको समस्या समाधान हुनु पर्छ भन्ने हाम्रो आग्रह थियो शर्माले भने ।

‘सरकारको तर्फवाट हाम्रो आग्रह सुनुवाई भएको छ यो स्वागत योग्य निर्णय हो डा. शर्माले भने अप्ठ्यारोमा परेका नेपालीहरुलाई सम्बन्धीत देशका नेपाली नियोगमा सम्पर्कमा राख्नु हुन अनुरोध गर्दछु’।

त्यस्तै बैठकले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६ र ७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव एक, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव एक गरी दुई वटा अस्थायी दरबन्दी नवीकरण स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्री डा युवराज खतिवडाका अनुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश पहिलो संशोधन, २०७७ समेत स्वीकृत भएकोसमेत जानकारी दिए।

मन्त्रिपरिषद्का थप निर्णय :

-संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६/७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव (मिनिष्टर) (१) र राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव (मिनिष्टर काउन्सेलरर काउन्सेलर) १ गरी २ (दुई) वटा अस्थायी दरबन्दी नवीकरणर स्वीकृत गर्ने,
-भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश (पहिलो संशोधन), २०७७ स्वीकृत गर्ने,
-हाल स्थगित रहेको श्रम स्वीकृति दिने कार्य देहाय बमोजिम हुने गरी खुला गर्ने,
क) बिदामा नेपाल आएका तथा भिषा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिने,
ख) यस पूर्वको करार अवधि समाप्त भई पुनस् करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकल समेतको आधारमा पुनःश्रम स्वीकृति जारी गर्ने,

-विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/२८ गतेको निर्णयअनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको क्रमसङ्ख्या २ को खण्ड (फ) पछि देहायको खण्ड (ब) थप गरी उक्त आदेशलाई मिति २०७७ साउन ६ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने,

उपर्युक्त खण्ड (क) देखि (फ) सम्म जुनसुकै व्यहोरा लेखिएको भए तापनि कोभिड(१९ को संक्रमणको जोखिम विश्लेषणका आधारमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र ले सिसिएमसी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भू-भाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सिल गर्न सक्नेछ।

-नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/१२ को निर्णयबमोजिम जारी भएको नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ मा उल्लेख भए बाहेक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्‍ट्रहरू लगायत अन्य मित्रराष्‍ट्रहरूले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्‍न नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन २०७७ असार १६ गते मङ्गलबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ साउन ७ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१ ) मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने। तर, मालसामानको ढुवानीलाई यथावत कायम राख्‍ने। सबै किसिमका आन्तरिक र बाह्य व्यावसायिक यात्रुबाहक हवाई उडानहरू उक्त अवधिसम्म स्थगन गर्ने। यो आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने,

-नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानीबाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानीबाहक पति वा पत्नी र स्वदेशमा आफन्तको काजकिरिया गर्न आउनुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई सम्बन्धित नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिने,

-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डिपार्चर/एराइभल लंजमा खटिई फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा वायु सेवा कम्पनीका चेकइन् ब्यागेज लोड अनलोड गर्ने व्यक्तिहरूले प्रयोग गर्ने मास्क, स्यानिटाइजर र ग्लोभ्स स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयले उपलब्ध गराउने,

-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूलाई विभिन्न होल्डिङ्ग सेन्टरसम्म लैजान नेपाली सेनाका सवारी साधन प्रयोग गर्ने र सोको लागि आवश्यक इन्धन खर्च नेपाली सेनालाई उपलब्ध गराउने,

-हवाईमार्ग वा स्थलमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको व्यहोरासहित होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेमा स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमकोहोम क्वारेन्टाइन सम्बन्धी मापदण्ड पालना गर्ने गरी डिसिसिएमसिले होम क्वारेन्टाइनमा बस्न अनुमति दिन सक्नेछ,

-विश्‍वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो। हालसम्म यो आदेशको पालना गरी साथ दिनुभएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै, मिति २०७७ साउन ७ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि जारी भएको उक्त आदेश र नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराई सहयोग पुर्‍याउनु हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछ।