१५ चैत्र २०८०, बिहीबार
Follow Us

कसैलाई प्रधानमन्त्री हुन मन लाग्यो भन्दैमा छोडिन्छ र ? : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
१९ असार २०७७, शुक्रबार ०४:००

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान देखाउँदै यसबारेमा कुरै नहुने प्रष्ट सन्देश दिनुभएको छ ।

आफूलाई भेट्न आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई ओलीले दुबै पद नछाड्ने भन्दै अरु कुरा भए गर्न तयार रहेको बताएउनुभएको हो ।

ओलीले दुबै नेतालाई, ‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु’ भन्नुभएको दाहाल निकट नेताले जानकारी दिनुभयो ।

ओलीलाई दुबै पदबाट हटाउन घुँडा धसेर लागेका दाहाल–नेपाल समूह यो जवाफबाट निराश भएको र ओलीले पार्टी विभाजन गरिसकेको बताउन थालेका छन् ।

पार्टीमा कुनै सल्लाह बिना नै अपर्झट मन्त्रिपरिषद् बैठक गरेर संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरिदिएकाले पनि दाहाल–नेपाल समूह आक्रोशित बनेको जनाइएको छ ।

ओलीले दाहालसँग मन्त्रिपरिषद्को बैठक स्थगित गर्ने, संघीय संसद बैठक स्थगित नगर्ने समझदारी गरेको तर त्यसविपरित संसद बैठक अन्त्य गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

स्थायी कमिटीले निर्णय गरेरै ओलीलाई हटाउने भने पनि ओलीले दुबै पद नछाड्ने प्रष्ट सन्देश दिनुभएको हो ।

ओली पक्षीय एक नेताले भने, ‘पार्टीका निर्वाचित अध्यक्षलाई स्थायी कमिटी वा केन्द्रीय कमिटीले कसरी हटाउन सक्छ ? संसदीय दलबाट निर्वाचित भएर प्रधानमन्त्री भएको व्यक्ति कसैलाई प्रधानमन्त्री हुन मन लाग्यो भन्दैमा छोडिन्छ र ?’

जसलाई यो पार्टीमा बस्न मन लागेको छैन उसलाई बाहिरिने, नयाँ दल खोल्ने वा अरु दलमा जाने बाटो खुल्ला छ, तर केपी ओलीले न पद छाड्छन्, न पार्टी नै, ति नेताले भने ।

इमेज खबरबाट