४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

sarusaru
१९ असार २०७७, शुक्रबार ०६:४५

भक्तपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले भक्तपुरको सूर्यविनायकमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहान युवाहरुले सूर्यविनायक चोकमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् ।

सूर्यविनायकमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् ।

उनीहरुले ओलीले भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै प्रर्दशन गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिनाएजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओली भने दुवै पदबाट राजीनामा नदिने अडानमा रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको छ । नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।
कान्तिपुर