१२ बैशाख २०८१, बुधबार
Follow Us

विवाद मिलाउन नेकपाका कुन-कुन नेता सक्रिय

नेपालब्रिटेन संवाददाता
१९ असार २०७७, शुक्रबार ०७:११

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेताहरुले पार्टी एकता हुँदाको सहमति अनुसार अघि बढन नेतृत्वलाई आग्रह गरेका छन् । आज नेकपा स्थायी समिति सदस्य घनश्याम भुषालको मन्त्री निवासमा भएको युवा नेताहरुको भेलाले नेतृत्वलाई पार्टी एकताको आधारबाट पछि नहट्न आग्रह गरेको हो ।

पार्टी गम्भीर संकटमा रहेकाले यसलाई जोगाउन पहल गर्ने निर्णय पनि युवा नेताहरुले गरेका छन् । पार्टी र सरकार दुबैको नयाँ ढंगले मुल्यांकन गर्नुपर्ने नेताहरुको भनाइ छ । युवा नेताहरुले शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न आग्रह पनि गरेका छन् । सडकमा प्रदर्शन रोक्न पनि युवा नेताले आग्रह गरेका छन् ।

स्थायी समिति सदस्यहरुले छलफलको निष्कर्षलाई लिएर दुई अध्यक्षसँग छलफल गर्ने जिम्मेवारी घनाश्याम भुसाललाई दिएको छ । छलफलमा स्थायी समिति सदस्य शंकर पोखरेल, योगेश भट्टराई, शक्ति बस्नेत, वर्षमान पुन, बिष्णु रिमाल सहभागी थिए । त्यस्तै स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा र मणि थापा पनि बैठकमा सहभागी रहेको बताइएको छ ।

स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजिनामा माग भएपछि नेकपामा विवाद चुलिएको छ । प्रधानमन्त्री ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै नछाडने अडानमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधब नेपाल पक्ष प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा छन् । प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा संसद अधिवेशन अन्त्य गरेपछि विवाद झनै बढेको छ ।