१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना बिरुद्ध लड्न एनआरएनएलाई आइएलओको ५ करोड सहयोग

नेपालब्रिटेन डट कम्
२० असार २०७७, शनिबार ०३:४२

लन्डन । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० रुपैयाँ रुपैयाँ अनुदान दिने भएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार आइएलओ र गैरआवासीय नेपाली संघ बीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

संघका अध्यक्ष कुमार पन्तले आइएलओको निर्णय स्वागत योग्य भएको वताए । उनले गैरआवासीय नेपाली संघप्रति विश्वभरका नेपाली लगायत अन्तर्राष्ट्रिय समुदायको समेत भरोसा रहेको भन्ने सन्देश आएलओको आर्थिक सहयोग दिएको उनले बताए ।

एनआरएनए महासचिव डा. हेमराज शर्माका अनुसार कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गर्न लागेको हो ।

संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ । संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ ।

महासचिव डा. शर्माका अनुसार आइएलओबाट प्राप्त सहयोगले नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने भएको छ ।

संघले आइएलओलाई स्पष्ट प्रपोजल पेश गरेको थियो, हाम्रा योजनाप्रति उनीहरु प्रभावित भएर नै आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् महासचिव शर्माले भने, ‘संघलाई प्राप्त सो रकम कहाँ कसरी खर्च गर्ने भन्ने स्पष्ट खाका यसअघिनै आएलओमा हामीले पेश गरेका थियौं ।’

‘गैरआवासीय नेपाली संघले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको हो, महासचिव शर्माले भने, ‘संघका लागि यो एक कोषे ढुंगा सावित हुनेछ, संधैं व्यक्तिको खल्ती ताकेर बस्नु पर्दैन, संस्था संचालन गर्न अन्य स्रोतसमेत परिचालन गर्न सकिन्छ भन्ने यो एउटा सन्देश हो ।’

सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रपोजल तयार पारेका थिए । आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

आइएलओले हालै सार्वजनिक गरेको प्रतिवेदनमा विश्वमा सवा एक अर्बको रोजगार प्रभावित हुने चेतावनी दिइएको थियो । आइएलओले विश्वभर कोरोनाका कारण करिब २ अर्ब ७० करोड कामदार प्रभावित भइरहेको जनाएको थियो । करिब १ सय वर्षअघि स्थापना भएको आएलओको मुख्यालय हाल स्वीजड्रल्याण्डको जेनेभामा रहेको छ ।

यसअघि कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघअन्तरर्गतको अर्को संस्था इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइओएम) सँग छलफल गरेको थियो ।