६ चैत्र २०८०, मंगलवार
Follow Us

ओली र दाहाल निर्णायक छलफलमा, होला सहमति ?

नेपालब्रिटेन संवाददाता
२१ असार २०७७, आईतवार ०७:२५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादमा सहमति खोज्न शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुबीच छलफल भइरहेको हो ।

छलफलमा ओली पक्षका नेता बिष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् । दाहाल पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी छन् । राष्ट्रपति विद्या भण्डारीसँग छलफल गरेपछि दाहाल प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

स्थायी समितिमा आफ्नो राजीनामा माग भएपछि ओलीले बिहीबार संसद बैठक स्थगित गरेका थिए । त्यसपछि नेकपाको विवाद झनै चुलिएको छ । विवादकै कारण स्थायी समिति बैठक भोलीसम्मका लागि स्थगित छ । ओलीले स्थायी समिति बैठकमा माग भए अनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाडने बताएका छन् ।

अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपाल भने पार्टी र सरकार अलोकप्रिय भइरहेको अवस्थामा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा छन् ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी ओली, पुष्पकमल दाहाल र माधव नेपालको शक्ति संघर्षका कारण पार्टीका विवाद चुलिएको छ ।