August 8, 2020
5:57 PM | 10:42 PM

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

  05/07/2020 मा प्रकाशित

चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ। यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ मा पनि दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो।

व्यक्तिगतरूपमा दूध उत्पादनमा लागेका किसानलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रम चालु वर्षमा राम्रो भएकाले अर्को वर्षका लागि पनि यसलाई निरन्तरता दिन लागिएको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिए। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रममा दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ।

नगरपालिकाले यो वर्ष दूधमा प्रतिलिटर रु तीन अनुदान दिएको थियो। दूध उत्पादनलाई बढाउन प्रोत्साहनस्वरुप किसानलाई प्रतिलिटरमा अनुदान दिने कार्यक्रम नगरपालिकाले बनाएको थियो। एक लाख ६० हजार रुपैयाँ बजेटको व्यवस्थासहित बनाइएको यो कार्यक्रममा चाल आर्थिक वर्षमा एक लाख १५ हजार खर्च भएको नगर पुश सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताए।

उनका अनुसार यो वर्ष १८ दूध उत्पादक किसानले अनुदान प्राप्त गरेका छन्। अनुदान पाउनका लागि कम्तीमा ५०० लिटर दूध उत्पादन गरेको हुनुपर्ने प्रावधानअनुसार नगरभरका व्यक्तिगतरूपमा दूध उत्पादन गरिरहेका १८ किसानले कम्तीमा एक हजार ५०० रुपैयाँदेखि बढीमा २४ हजार ६०० रुपैयाँसम्म अनुदान पाएको सापकोटाको भनाइ छ।

अनुदानका लागि वर्षभरिमा कम्तीमा ५०० लिटर दूध उत्पादनका साथै नगरमा सूचीकृत डेरीमा दूध बिक्री गरेको हुनुपर्ने नियम तोकिएको थियो। आगामी वर्षसमेत यो कार्यक्रमले निरन्तरता पाउने भए पनि चालु वर्षकै अनुसार सञ्चालन गर्ने कि नयाँ विधिबाट सञ्चालन गर्ने भन्नेबारेमा यकिन भइसकेको छैन।

आगामी वर्षका लागि नगरपालिकाबाट भैँसी प्रवद्र्धन कार्यक्रमका लागि २१ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ भने सङ्घीय सरकारबाट पनि यो शीर्षकमा यति नै मात्रामा बजेट आएको नगरपालिकाले जनाएको छ। दूधमा अनुदान कार्यक्रम यसै शीर्षकको बजेटबाट सञ्चालन हुने र बजेट विनियोजन हुन बाँकी रहेको नगर पशु सेवा शाखा प्रमुख सापकोटाले बताए।
रासस

प्रतिक्रिया