७ बैशाख २०८१, शुक्रबार
Follow Us

यूरोपियन कांग्रेसको कुम्भ मेला फ्रयांकफोर्टमा

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७३, शनिबार १०:१६

फ्रयांकफोर्ट । नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि सुरु हुने भएको छ । जर्मनीको फ्रयांकफोर्डको होस्ट होफमा आयोजना हुने उक्त भेला दुई दिनसम्म चल्ने नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले जानकारी दिए ।
समितिको १० औं बार्षिकोत्सवको अवसर पारेर आयोजना हुने भेलामा पार्टी गतिविधिलाई यूरोप क्षेत्रमा सशक्त रुपमा विस्तार गर्न तथा संस्थागत संरचनाबारे धारणा बनाउने बताइएको छ । भेलामा यूरोपस्थित १४ देशका प्रतिनिधि सहभागी हुने भेला तयारी समितिका संयोजक लोकमणी ढकालले ेजनाए ।
गैरआवासीय नेपाली संघको अभियानलाई समेत अझ प्रभावकारी बनाउने बिषयमा छलफल गर्नका लागि जनसम्पर्क समिति यूरोपले बिभिन्न राष्ट्रिय समितिका सभापतिहरु, महाअधिवेशन प्रतिनिधिहरु तथा यूरोपस्थित कांग्रेस समर्थक नेता तथा कार्यकर्ता फ्रयांकफोर्डमा जम्मा हुने क्रम शुरु भएको छ । औपचारिक कार्यक्रम आइतवार साँझदेखि सुरु हुने भएको छ ।
नेपाली जनसम्पर्क समिति यूरोपले दिएको जानकारी अनुसार आइतवारको भेलाले संगठनको आन्तरिक बिषयमा छलफल गर्ने छ । भेलामा पार्टी सुदृढीकरणलगायतका समितिको दोश्रो अधिवेशन, विधान संशोधन, अधिवेशन आयोजक तथा निर्वाचन समितिको गठनलगायतका एजेन्डामा छलफल हुने महामन्त्री गंगाधर गौतमले जनाकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा हुने भेलामा यूरोपभरका १४ देशका करिब ३ दर्जन प्रतिनिधि सहभागी हुने समितिले जनाएको छ । भेलामा भाग लिन आएका नेपाली जनसम्पर्क समिति बेलायतका महान्त्री राजकुमार त्रिपाठीले भेलाले नेपाली कांग्रेस पार्टीबाट बैधानिकता प्राप्त गर्न पहल गर्ने बताए । भेला पार्टी संगठनलाई अझ मजबुद बनाउन कोषेढुगां हुने तर्क गरे ।
भेलाको दोश्रो दिन सोमबार बृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिने छ । अन्तक्र्रियामा जर्मनीस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थालगायत गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा लगायतले सम्वोधन गर्ने भएका छन् ।
जनसम्पर्क समिति यूरोपका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङले पार्टीका नेतृत्वलाई घच्घचाउने उद्देश्य र स्थापनाको १० औं बर्ष गाँठ मनाउन फ्रयांकफोर्डमा भेला आयोजना गर्न लागिएको बताए । उनले भने– ‘नेपाली कांग्रेसको विधानमा यूरोपियन समितिबारे अहिलेसम्म व्यवस्था छैन । विधानमा व्यवस्था नभएपछि पार्टी संगठनलाई सुदृढ बनाउन र यूरोपमा नेपाली कांग्रेसप्रति आस्था राख्नेलाई संगठित बनाउन भेला आयोजना गरिएको हो ।’
भेलामा नर्बे, स्वीडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्तुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्स्जम्बर्ग, पोल्यान्ड, बेलायत र आयरल्यान्ड लगायतका देशको प्रतिनिधिले भाग लिदैछन् ।