१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल एयरलाइन्सका ६ जनामा कोरोना पुष्टि, सोल्टी होटल सिल

नेपालब्रिटेन संवाददाता
२२ असार २०७७, सोमबार १०:१०

काठमाडौं । विदेशबाट स्वदेश फर्कन चाहने नेपाली नागरिक बोकेर उडान भर्दै आएको नेपाल वायुसेवा निगमका क्याप्टेनसहित ६ जना चालक दलका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु बस्दै आएको होटल सोल्टीमा तनाव बढेको छ ।

उडानबाट आएर सिधै होटलमा पुगेर त्यहीँ बसेर अन्य गन्तव्यको उडान भर्दै आएका चालक दलका सदस्यमा कसरी कोरोना संक्रमण फैलियो अनुसन्धान भइरहेको छ । होटलमा बस्दा नियमित नाचगानसहित मनोरञ्जन गर्ने र होटलका कर्मचारीहरुसमेत नाचगानमा सहभागी हुने गरेको स्रोतले जानकारी दिएको छ । यसैबीच सोल्टी होटललाई सिल गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको स्रोतले बताएको छ । उनीहरु होटल सोल्टीका कर्मचारीहरुसँग नियमित सम्पर्कमा रहेको हुँदा होटलका कर्मचारीहरुमा समेत कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको छ । नियमित उडानमा सहभागी एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना पुष्टि भएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको छ ।