१२ बैशाख २०८१, बुधबार
Follow Us

करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ

sarusaru
२३ असार २०७७, मंगलवार ०७:३६

घोराही -किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडासचिवसहित तीनजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १ का सचिव धनबहादुर केसी र वडा नम्बर १३ का खरिदार लीलाजित नेपाली तथा वडा नम्बर १३ कै ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए ।

उनीहरूले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका दुईजना वडासचिवले ०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर ०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौँ,’ प्रहरी प्रवक्ता खड्काले भने । अभियुक्त तीनजनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

ad
जबर्जस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन् । पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो ।

उपमहानगरपालिकाले ती किशोरी ०५९ मा जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरिदारसहित तीनजनालाई पक्राउ गरिएको खड्काले जानकारी दिए ।
मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २५ दफा २७६ (किर्ते गर्न नहुने) बमोजिम मुद्दा दर्ता गरेर थप अनुसन्धानलाई अघि बढाइएको प्रवक्ता खड्काले जानकारी दिए ।
रासस