१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरिता गिरीको सांसद पद गयो, पार्टीबाट निस्कासन

नेपालब्रिटेन संवाददाता
२३ असार २०७७, मंगलवार १२:३२

काठमाडौं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

बैठकले गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय पनि गरेको छ । कारबाहीमा परेपछि नेतृ गिरीको सांसद पद गुम्ने छ ।

लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राख्दै पार्टीको निर्देशन उल्लंघन गरेकी थिइन् । जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि संसदमा मतदान हुँदा गिरी बैठकबाटै बाहिरिएकी थिइन् ।

ह्विप उल्लंघन गरेको आरोपमा उनलाई पार्टीले गठन गरेको छानविन समितिले कारबाही गर्न सिफारिस गरेको थियो । पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्व तथा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको समितिले हिजो कारबाहीका लागि पार्टीलाई सिफारिस गरेको थियो । गिरी समाजवादी पार्टीका तर्फबाट समानुपातिक खस–आर्य कोटामा सांसद बनेकी थिइन् ।