१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं उपत्यकामा आज २८ जना संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२३ असार २०७७, मंगलवार १२:३७

काठमाडौं । सरकारले लक डाउन केही खुकुलो बनाएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार ५४ जना संक्रमित भेटिएको उपत्यकामा मंगलबार केही कम भए पनि लक डाउन अवधि पहिलेभन्दा बढी २८ जना संक्रमित भेटिएका छन् ।

लकडाउन खुकुलो भएसँगै आवतजावत बढेकोले उपत्यकामा संक्रमितको संख्या बढेको हो । खाडी मुलुकवाट कोरोना नै जाँच नगरी स्वदेश फर्किएका र काठमाडौं बाहिरबाट लुकीछिपी आउनेहरुका कारण उपत्यकामा संक्रमण बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाइ छ ।

काठमाडौंको कपन महाराजगञ्ज, नैकाप, बुढानीलकण्ठ र चन्द्रागिरी लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै भक्तपुरको सल्लाघारी, चाँगुनाराण र ललितपुरको चापागाउँ, धोविघाट, भैसेपाटी र ठेचो लगायतका ठाउँमा संक्रमित भेटिएका छन् ।

संक्रमित बढेपनि समुदाय तहमा भने नपुगेको स्वास्थ्य मन्त्रालयको दावी छ । अहिलेसम्म कोरोना संक्रमण भएकाहरुमध्ये ९७ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको मन्त्रालयले जनाएको छ । मंगलबार काठमाडौंमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म उपत्यका भित्र ठेगाना राख्ने संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् । अहिलेसम्म कोरोना संक्रमण भएकाहरुमध्ये ९७ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेका छन ।