६ बैशाख २०८१, बिहीबार
Follow Us

महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार ०४:५१

रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१३ जयमङ्गलामा चलिरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान गरिएको छ । रत्ननगर–१३ जयमङ्गलास्थित श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको आयोजनामा चलिरहेको महायज्ञमा स्थानीय व्यवसायी भेषराज दुवाडीले रु १० लाख दान गर्नुभएको छ ।

महायज्ञ मूल समारोह समितिका संयोजकसमेत रहनुभएका दुवाडीले पुण्य कामका लागि आफूले सो रकम दान गरेको बताउनुभयो ।

श्रीराम मन्दिर परिसरमा संस्कृत विद्यापीठ बनाउने उद्देश्यले सञ्चालन गरिएको महायज्ञमा शनिबारसम्म रु ३७ लाख २४ हजार ६५० आर्थिक सङ्कलन भएको छ ।

रत्ननगर–१३ निवासी लक्ष्मीप्रसाद कट्टेलले रु एक लाख ५१, नरराज सुवेदीले रु एक लाख ११ हजार, श्यामकृष्ण बगालेले रु एक लाख ११ हजार, रामप्रसाद भट्टराईले रु एक लाख एक हजार र दयाराम कँडेलले रु एक लाख एक हजार सहयोग गर्नुभएको छ ।

वैदिक सनातन धर्मको संरक्षण, हालको गुरुकुलमलाई कक्षा १२ सम्म विस्तार, गुरुकुलमका लागि छुट्टै आवास तथा छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहासिक संरचनाको जीर्णोद्धारका लागि महायज्ञ आयोजना गरिएको हो ।

छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहासिक संरचनाको जीर्णोद्धारका लागिसमेत महायज्ञबाट आएको रकम खर्चिने छ ।

महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीले कथावाचन गरिरहनुभएको छ । मङ्सिर २९ गतेसम्म चल्ने महायज्ञबाट रु एक करोड उठाउने लक्ष्य राखिएको छ ।