१९ बैशाख २०८१, बुधबार
Follow Us

नेकपा स्थायी समितिको बैठक पुनः स्थगित

नेपालब्रिटेन संवाददाता
२४ असार २०७७, बुधबार ०३:४०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पुनः स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक २६ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा भएको छलफलपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो ।

पार्टीमा देखिएको विवादमा सहमति खोज्नका लागि स्थायी समिति अघि दुई अध्यक्षविच छलफल भने जारी रहने बताइएको थियो । लगातार छलफल भएपनि ओली र दाहालबीच अझै कुरा मिलेको छैन । प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडानमै छन् ।

असार १८ गते प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । यसअघि असार २२ गतेका लागि तय गरिएको बैठक पार्टीभित्र देखिएको विवादका कारण सहमति खोज्न भन्दै स्थगित गरिएको थियो ।

स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाब दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने चुनौती दिँदै आएका छन् । पार्टी विभाजनको अवस्थामा पुगेपछि दुई अध्यक्षले आइतवारदेखि निरन्तर छलफल गरिरहेका छन् ।