१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संस्कृत पढाइ नहुँदा पाइनै छोडे पुरोहित

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार ०४:५३

बेनी । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नुका साथै म्याग्दीमा धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ ।

पुरोहितको अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् ।

संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणले पनि संस्कृत पढ्न छोडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि (पुरेत) ब्राह्मणको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।

वेद, उपनिषद्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–४ का भीमबहादुर कार्कीले बताउनुभयो ।

“हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो”, कार्कीले भन्नुभयो – “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारन, विवाह र मृत्यु संस्कारजस्ता नगरिनहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।”

संस्कृत शिक्षा हिन्दूहरुको जीवन पद्दद्धिसँग जोडिएको शिक्षा भए तापनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेसा अझै हुन नसकेकाले संस्कृतप्रति मानिसको उदासीनता बढेको हुन सक्ने म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्रध्यापक नारायणदत्त सुवेदीले बताउनुभयो ।

कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव सुरु हुन थालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरु पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।