७ बैशाख २०८१, शुक्रबार
Follow Us

डब्लुएचओबाट अमेरिका औपचारिकरुपमा बाहिरिदै

नेपालब्रिटेन संवाददाता
२४ असार २०७७, बुधबार ०३:४७

न्यूयोर्क । अमेरिकाले औपचारिक रुपमा विश्व स्वास्थ्य संगठन डब्लुएचओबाट बाहिरिने प्रक्रिया शुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका डब्लुएचओबाट बाहिरिने सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई गराएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताले अमेरिकाले सन् २०२१ को जुलाई ६ देखि लागु हुने गरी आफू डब्लुएचओबाट बाहिरिने जानकारी गराएको पुष्टि गरेका छन् । अमेरिकी कंग्रेसको परराष्ट्र सम्बन्ध समितिका सिनेटर रोबर्ट मेनेन्डेजले पनि त्यसको पुष्टि गरेका छन् ।

उनले ट्वीट गर्दै डब्लुएचओवाट बाहिरिने निर्णयले कोरोना भाइरसवाट अमेरिकीलाई बिरामी र अमेरिकालाई एक्लै बनाउने उल्लेख गरेका छन । नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई चुनौती दिने डेमोक्रेट उम्मेदवार जो बाइडेनले ट्रम्पको आलोचना गरेका छन् ।

उनले ट्वीटमा राष्ट्रपतिका रुपमा पहिलो दिनमै आफुले अमेरिकालाई पुनः डब्लुएचओको सदस्य बनाउने बताएका छन । अमेरिका डब्लुएचओवाट बाहिरिने प्रक्रिया पूरा हुन हुन भने कम्तिमा एक वर्ष लाग्ने बताइएको छ ।

ट्रम्पले गएको मेमा नै अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणा गरेका थिए । डब्लुएचओ चीनको छायामा रहेको र उसकै कठपुतली बनेको तथा कोरोना भाइरसविरुद्ध राम्रो काम गर्न नसकेको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।