७ बैशाख २०८१, शुक्रबार
Follow Us

अष्ट्रेलियामा लागु भयो एनआरएन डिजिटल परिचयपत्र, युकेले नपाउने

नेपालब्रिटेन डट कम्
२४ असार २०७७, बुधबार १४:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अष्ट्रेलियामा डिजिटल परिचयपत्र लागु गरेको छ । संघका महासचिव डा. हेम राज शर्माका अनुसार बुधवार देखि एनआरएनए अष्ट्रेलियाका पन्जिकृत सदस्यहरुले सो डिजिटल परिचयपत्र डाउनलोड गर्न सक्ने छन् । संघले पहिलो चरणमा एनआरएनए अमेरिकामा पहिलो पटक परिचयपत्र लागु गरेको थियो ।

डा. शर्माका अनुसार संघको केन्द्रीय सदस्यता प्रणालीमा दर्ता भएका एनआरएनए अष्ट्रेलियाका सदस्यहरुले आफ्नो डिजिटल आईडि कार्ड आफ्नो फोनमा डाउनलोड गर्न सक्ने छन् ।

गैरआवासीय नेपाली संघले चरणबद्ध रुपमा अन्य देशमा पनि परिचयपत्र योजनाबद्ध तरिकाले वितरण गर्ने योजना बनाएको छ ।

नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरुको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्छ ।
यसअघि संघले सचिव गौरी राज जोशीको संयोजकत्वमा स्मार्ट एनआरएनए कार्यदल गठन गरेको थियो ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पन्जिकृत सदस्यहरु भने संघको डिजिटल परिचयपत्रबाट बन्चित हुने सम्भवना बढेर गएको छ ।

संघको गत सेप्टेम्वरमा सम्पन्न महाधिवेशनमा सदस्य बनेको विवरण केन्द्रीय प्रणाली (एमआईएस) मा समावेश नगरिएको कारणले वेलायतवासी नेपालीहरु भने सो परिचयपत्र प्राप्त गर्ने छैनन् ।

यसअघि गैरआवासीय नेपाली संघले सदस्यहरुको विवरण केन्द्रमा पठाउन पटकपटक ताकेता गरे पनि एनआरएनए युकेले आफ्ना सदस्यहरुको विवरण पठाउन सकेको छैन् । डिजिटल परिचयपत्र बाहकले नेपालमा स्वास्थ्य, शिक्षा, क्याटरिङ्ग, बैंकिङ्ग लगायतका क्षेत्रमा भारी छुट पाउने व्यवस्था गरिएको छ ।