१५ चैत्र २०८०, बिहीबार
Follow Us

उपचार खर्चवापत सहाराले आचार्यलाई दियो रु १० लाख

नेपालब्रिटेन संवाददाता
२५ असार २०७७, बिहीबार ०३:३७

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले ‘इन्फ्लुन्जा ए’ नामक रोगबाट ग्रसित नरेन्द्रकुमार आचार्यलाई उपचार खर्चवापत रु १० लाख २५ हजार प्रदान गरेको छ ।

भद्रपुर नगरपालिका–७ का ४३ वर्षीय आचार्यलाई बुधबार साकोसको ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत सो रकम प्रदान गरिएको हो । ‘इन्फ्लुन्जा ए’ नामक रोगबाट ग्रसित आचार्यको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भएको थियो । सहाराले आफ्ना सेयर सदस्य गम्भीर वा सामान्य बिरामी भई उपचार गर्नु परे त्यसवापत केही रकम प्रदान गर्दै आएको छ ।

आचार्यलाई यसअघि पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया खर्चवापत रु ८८ हजार ७२३ सहाराले उपलब्ध गराएको साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभयो । यसैबीच जीवन वरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काका अनुसार सहाराले यो कार्यक्रमवापत हालसम्म रु आठ करोड ४४ लाख ४६ हजार २६१ खर्च गरेको छ । कार्यक्रमका २० हजार सदस्यमध्ये तीन हजार ५१ जनाले यो सुविधा प्राप्त गरेको खड्काले जानकारी दिनुभयो ।

जीवन वरदान कार्यक्रमअन्तर्गत संस्थामा आवद्ध भएका सदस्य तथा कर्मचारीको स्वास्थ्यमा कुनै पनि रोगको उपचार अथवा शल्यक्रिया गराउनुपर्ने अवस्था आएमा उपचारार्थ रकम उपलब्ध गराइन्छ । त्यसअन्तर्गत उपचार तथा शल्यक्रिया, स्वास्थ्य हेरचाह, नियमित औषधि सेवन, प्रसूति सेवा, सुत्केरी पोषण, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर र स्वास्थ्य शिक्षा कार्यक्रम रहेको छ ।