१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना

नेपालब्रिटेन संवाददाता
२५ असार २०७७, बिहीबार ०३:४३

काठमाडौं । आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

आजदेखि आइतबारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

आइतबारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ । प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई थप सर्तक रहन आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा औल्याइएको छ । हाल दुधकोशी नदी रबुवाबजार, खोटाङ बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको, खतरा तह आसपास समेत पुग्न सक्ने अनुमान गरिएको छ ।