प्रकाश के.सी.। लण्डन । माओवादी पार्टीको विखण्डित रुप मध्येको एक, नयाँ शक्ति नेपालको भातृ संस्थाको रुपमा सिर्जना गरिएको अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको आमन्त्रणमा पार्टीको संयोजन र विस्तार गर्नेहेतु बेलायतको भ्रमणको क्रममा आएका पूर्व प्रधानमन्त्री, तथा नयाँ शक्ति पार्टीका संयोजक नेपाल कम्युनिष्ट पार्टीका पूर्व शीर्ष नेता डा. बाबुराम भट्टराईले यहाँ आयोजित गरिएका विभिन्न कार्यक्रमहरुमा दिने मन्तव्यहरुमा राखेका हुन् ।
पश्चिमी लण्डनमा विगत पन्ध्र वर्षबाट रहँदै आएका राम बहादुर गुरुङ, आफ्नो बाईस वर्षीय छोरो, जो आइत बहादुरबाट एण्डी बनिसकेका छन् लाई नेपाली भाषा तथा संस्कृति सिकाउन नसकेकोमा आत्मग्लानी महशुस गर्दछन् ।

“जति नै वर्ष यहाँ बिताए पनि वा यहाँ नै जन्म लिए पनि, नेपालीहरु सँधै नेपाली अथवा आप्रवासी नै रहनेछन् । अनुहारमा सेतो पोतेरै पनि कुइरे बन्न सक्दैन क्यारे त्यो” -गुरुङ अगाडि भन्दछन् । तर एण्डी अर्थात् आइतबहादुर आधा नेपाली र आधा अंग्रेजीमा झर्किँंदै भन्दछन् –“आफ्नै मुलुकबाट खेदिएर शरणार्थी बनेकाहरुका मनहरुमा अब केको राष्ट्रियता नी” ? लगभग तीन वर्षको एक्लो छोरोलाई लिएर गाउँ छोडेर भाग्नु परेको पीडालाई शब्दहरु र आँखाहरुबाट एकोहोरो सुनाउदै गुरुङ बताउँछन् –“देशभित्र वषौैं शरणार्थी भएर बस्नुको दुःख बाबु, शब्दमा त पोख्नै सक्दिनँ । घरकी जहानलाई गुमाएर, यो सानो बबुरोलाई च्यापेर, आफ्नै गाउँबाट आफ्नै मान्छेहरुबाट जोगिएर भाग्नु पर्दाको पीर अहिले त आफैलाई पनि कथाको जस्तो लाग्छ । हिजोका दिनमा अँगालिएर हिँड्ने दौंतरी, माओवादी भएर गाउँमा आएर मेरो उठिवास गराएको म अहिले पनि पत्याउनै सक्दिनँ । उनीहरुको पोल खोलेको वित्थाको आरोपको खण्डन गर्नै सकिनँ मैले, वित्थामा जहान गुमाएँ ।” धेरैपछि भुटानी शरणार्थीसँग विवाह गरी शिविरमै बसेका उनी त्यही अवस्थामा धेरै मुश्किलले बेलायत भित्रिएका थिए । उनको व्यथा यतिखेर, बेलायती नेपाली मिडियाहरुमा बेलायती नेपालीहरुबाट डा. भट्टराईलाई स्वागत गरी खादा ओढाएर गरिएका सम्मानजनक कार्यक्रमहरुको समाचारले बढाएको उनी बताउँदछन् ।

डा. भट्टराईले विदेशमा नेपाली युवाहरु श्रम गरी बस्न वाध्य भएका बताउँछन् । नेपालमा रोजगारीको अभावमा विदेशीएका नेपाली युवाहरुको श्रमको उचित व्यवस्थापन नेपालमा नै गरी मुलुकमा आर्थिक क्रान्ति गर्ने सपना बाँड्दै हिँड्ने भट्टराई ती व्यक्ति हुन्, जो सन् १९९१ मा भएको चुनावमा नेपालको तेस्रो शक्तिशाली राजनीतिक वैधानिक पार्टी संयुक्त जनमोर्चाका शीर्ष नेता थिए । त्यस्तो शक्तिशाली रहेको पार्टी जसको भविष्य निक्कै नै प्रखर देखिएको थियो लाई टुक्र्याएर त्यसपश्चात् भूमिगत हुन गएका भट्टराईले तत्कालीन नेपाली जनताले स्पष्ट रुपमा दिएका मतको अपहेलना मात्र गरेनन्, विचारको सम्प्रेषण गरी मुलुकको मूलधारमा स्थापित हुन सकिने व्यवस्थाको नजरअन्दाज पनि गरे । मुलुकको तत्कालीन दुबै शक्ति अर्थात् माओवादी र नेपाली सेनाको मारबाट बच्नका लागि वाध्यताले विदेशिनेहरुलाई पछ्याउँदै विदेशिनेहरु र ती विदेशिने प्रचलनले ग्रस्त भइसकेको नेपाली समाजमा आदि बनेर विदेशिनेहरुलगायत मुलुकमा राजनीतिक उथलपुथलले गर्दा रोजगारीमा पारेको अभावले गर्दा विदेशिने युवाहरुको उही पुस्तालाई तिनले विदेशमा गरेको कार्यहरुको सम्मान गर्दै तिनका साथ लिन भट्टराई विदेश भ्रमणमा गर्दैछन् ।

भ्रमणको क्रममा मुलुकमा अब ‘आर्थिक क्रान्ति’को अवश्यम्भावी अवस्था रहेको व्याख्या गर्दैछन् । उनले अगुवाइ गरेका ‘सामाजिक क्रान्ति’, ‘राजनीतिक क्रान्ति’का भुक्तभोगीहरुको असम्वरणीय वेदनाको अनुमानसम्म लगाउँदैनन् डा. भट्टराई । नेपालमा निरंकुश शासनको अन्त्य नभएसम्म देशको विकास हुँदैन भनेर हामीले क्रान्ति गरेका हौं, अब अर्को क्रान्ति भनेको ‘आर्थिक क्रान्ति’ हो देशलाई सम्वृद्धशाली बनाउने भन्ने मन्तव्यहरुमा मुख्य रुपले राख्ने भट्टराईले मानेका सफल ‘राजनीतिक क्रान्ति’को क्रममा, विभिन्न मुलुकहरुमा वेपत्ता हुने, मारिने, अपांग हुने तथा काठको बाकसमा मृत हालातमा फर्किनेहरुलगायत जेनतेनले जीवन धानिरहेका गैरआवासीय अनागरिकहरुलाई शब्दहरुको जालमा फेरि कब्जा गर्न भट्टराई चौतर्फी भएका छन् एकपछि अर्को क्रान्तिको नायक क्रान्तिकारीको रुपमा व्यवस्थित बन्ने प्रयत्नका साथ ।

बेलायतमा केही दिन बिताएर पोर्चुगलतिर लाग्दै गरेका डा. भट्टराईलाई सबै कार्यक्रमहरुमा उपस्थित हुन पनि धौ धौ परिरहेको बताइएको छ । सेलिब्रिटीको अवस्था भोग्दै सम्मानित बन्दै हिँडेका डा. भट्टराईलाई प्रत्यक्ष नभए पनि अनलाइन वा सामाजिक सञ्जालहरुमा भने प्रशस्तै गाली दिनेहरु धेरै देखिएका छन् । बेलायती नेपाली समाज बिस्तारै डेढ लाख जतिको संख्यामा पुग्न लागेका नेपालीहरु पछिल्लो अवस्थामा आएर जातिवादी अतिवादले पूर्ण रुपमा विभक्त भएको छ । एक जात र अर्को जातबीचमा समन्वय र सहिष्णुता हराएर संकुचित आकारमा संरक्षित हुन गएको समाजमा विभेदको चरण एकातिर हद हुँदै छन् भने जातिवादी सोँचहरु अझ साँघुरिएर उपजातिहरुमा पनि विस्तारित हुन थाल्दै गरेको यही समाजमा अनेकौं तह र तप्काका नेपालीहरु छन् । भूतपूर्व गुर्खा वा तिनका परिवारहरु, व्यापारी तथा तिनका परिवारहरु, विद्यार्थीहरु र तिनका परिवारहरु, हङकङबाट स्थानान्तर गरेका विविध परिवाहरुलगायत नेपाली तथा भुटानी शरणार्थीको ट्याग लगाएर स्थापित भएका परिवारहरुको ती डेढ लाख नेपालीहरुमा बेलायती मूल धारमा पूर्ण रुपमा समाहित भएको ठूलो संख्या पनि रहेको छ ।

बेलायती नागरिकता लिने क्रममा अदालतमा …म भगवान साक्षी राखेर सपथ लिन्छु, म रानी तथा राजपरिवार र बेलायती नीति तथा नियमप्रति पूर्ण रुपमा वफादार हुनेछु र बेलायती हक र अधिकारसहित स्वतन्त्रताको पूर्ण उपयोग बेलायती नेपाली नागरिक भएर भोग गर्नेछु…आदि भनेर सपथ लिनेहरुका वहुमतको नेपाली जनसंख्याहरु छन् । नीतिगतलगायत कानूनी रुपमा अमान्य रहेर यहाँ नेपालीहरुमा नेपाली राजनीतिको चरम छाएको छ, त्यही चरमको उपभोग नेपाली राजनीतिज्ञहरु गर्दैछन् र सोअनुरुप नेपाली वृत तर उही खेलमा साधन बनेका छन् ।

राष्ट्रियताभित्रको पहिचानवादी सोँचको गहनताभित्र माओवादी पार्टीले उहिले अत्यन्तै प्रखर रुपमा ब्रिटिश सेनामा हुने भर्ती केन्द्र रोक्ने भन्दै हिँडेका थिए र भू.पू. गुर्खाहरुका संस्थाले त्यसको विरोध गरेका थिए । ‘एक स्वतन्त्र र स्वाधीन राष्ट्रले अर्को स्वतन्त्र र स्वाधीन राष्ट्रमा तिनको तर्फबाट अर्को स्वतन्त्र मुलुक वा संस्था वा विचारसँग लड्नको लागि अनुमति दिनै सक्दैन ।’ त्यस आधारबाट गरिएको माओवादीको उक्त विरोधले तत्कालीन अवस्थामा एउटा ओजपूर्ण प्रभाव पारेको भने थियो । ब्रिटिश सेनामा सीधासादा युवा नेपालीहरुलाई नेपाल सरकारले बेचेको भन्दै हिँड्ने भू.पू. गुर्खांहरुका संस्थाले भने ब्रिटिश सेनामा भर्ना हुने सिपाहींहरु विस्तारै बेलायती नागरिक बन्न पाउने मौका माओवादीहरुले भत्काउन आँटेकोमा विरोध गरेका थिए । विश्वमा वुुद्ध धर्मावलम्बीहरु संख्याको आधार गन्ती गर्ने हो भने मुख्य दश देशहरुमा नेपाल पर्दैन, जब कि, उनै वुद्धको जन्म नेपालमा भएको हो भन्दै जनस्तर तथा सरकारी पक्षबाट व्यापक प्रचारप्रसार गराइँदै आएको छ ।

शान्तिको ‘प्रतीक’को रुपमा तथा एक धर्मका रुपमा परिचित भएका वुद्ध जन्मेको देश नेपालले भारतलगायत, बेलायतको सेनामा आफ्ना युवाहरुलाई तिनको तर्फबाट तिनको हितअनुरुप लड्ने सिपाहीं बन्नको लागि अनुमति दिने तत्कालीन तथा वर्तमान नेपाली सरकारको विरोधाभास पद्धति बुझिनसक्नुको छ । त्यसमाथि, उही माओवादी पार्टी जसले एकपटक त्यसरी बेलायत तथा भारतको सेनाको लागि खोलिएका भर्ती केन्द्र बन्द गर्ने उद्घोष जारी गरेको थियो का अध्यक्ष अहिले वर्तमान नेपाली सरकारको नेतृत्व लिएर प्रधानमन्त्री बनेका छन्, उनैका सरकारका विदेश मन्त्री रामशरण महतका लिखित निर्देशनमा बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सरकारी तवरबाट भू.पू. गुर्खाका समान पेन्सनलगायतका समस्याहरुलाई समाधान गराउनका लागि बेलायती सरकारसँग आधिकारिक चरण थालेका छन् । माओवादी अडानको अर्को फितलो नमुना यहाँ यतिखेर देखिएको छ ।

भू.पू. गुर्खाहरुको वाहुल्यता भएको मुलुकमा नेपाली नेताहरु आउँदा समाजले मन पराउने अवस्था बनाएर स्वदेश फर्किने मात्र नेपाली सरकारी ध्याउन्न रहेको स्पष्टै लाग्दछ ।
केन्द्रीय अपराध अदालत, बेलायत [सेन्टर क्रिमिनल कोर्ट यूके]बाट ‘इन्टरनेशनल क्रिमिनल एक्ट १९८८ को सेक्सन १३४’ जसले अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार हनन गर्ने अपराधीहरुलाई समातेर कारबाही गर्ने अधिकार दिन्छ को प्रयोग गर्दै नेपाली सेनाका कर्नल कुमार लामालाई उनी बेलायत भएकाृ वखत सन् २०१३ को जनवरी ०३ तारिखका दिन समातिएको थियो । लामालाई उनीबाट गोरुसिंगे आर्मी व्यारेकमा सन् २००५ को १५ अप्रिल र ३१ अक्टोबरमा जनक बहादुर राउत र करम हुसैनलाई माओवादीलाई सहयोग गरेको आरोपमा हिरासतमा लिई तिनको नितान्त मानव अधिकारको पूर्ण रुपमा हनन गरेको भन्ने आधारको लागेको आरोप, यही वर्षको सेप्टेम्बर ०६ तारिखबाट मुक्त भएको थियो । माओवादीहरुमाथि गरिएका मानवअधिकारहरुको हननको चर्चा नसेलाइएको मुलुकमा माओवादीहरुबाट भएका उस्तै प्रकारका हननहरुको चर्चा किन चलिरहेका छैनन् र किन कसैले माओवादी शीर्षस्थ नेता बाबुराम भट्टराईविरुद्ध त्यही केन्द्रीय अपराध अदालतमा मुद्दा हालेका छैनन्? किन ?

व्यक्तिलाई नागरिकतामा टाँसिएको तस्वीर र त्यसमा प्रमाणित गरिएको अवस्थाले मात्र नागरिक बनाउँदैन । मुलुकप्रतिको आस्था, सद्भाव अनि वफादारिताले ज्यादा कर्तव्यनिष्ठ नागरिक बनाउँदछ । अन्य देशहरुमा नागरिकलाई दिने सुविधाहरु, ती देशहरुमा नागरिकले भोगेका स्वतन्त्रता मात्र होइन, तिनले पाउने अवसरहरुले पनि तान्न सक्दैन ती नागरिकलाई जसको स्वभावमा देशप्रेम बसेको हुन्छ । गरीव देश भए पनि, अवसर तथा रोजगारीको अभाव त्यहाँ ठूलो हुँदैन, यदि नागरिकले ‘नागरिक हुनुको गर्व गर्न सक्ने मौका’ स्वदेशमा पाउँदछ भने । स्वाभिमान तथा स्वाभलम्वन स्वभावले ओतप्रोत नेपालीलाई एक छाक खाएर शीर ठाडो पारेकोमा गर्व लाग्दछ ।

इमान्दारिताका साथ भन्ने भए, पूर्व प्रधानमन्त्री के.पी. ओलीले नेपालीहरुमा त्यो भाव, त्यो गर्वित हुन सक्ने अवस्थाको सिर्जना गराएका थिए । हुन त नेपाली राष्ट्रियता भनेको भारतलाई गाली गर्नु र भारतसँग आफ्नो अडानमा स्थीर रहनु मात्र होइन, तर, मुलुक भारतबाट अघोषित रुपमा गरिएको नाकाबन्दीमा ‘आलो’ रुपमा ग्रस्त भएको हालातमा के.पी. ओलीको अडान र राष्ट्रप्रेम आम नेपाली जनस्तरमा अत्यन्तै रुचिकर लागेको हो । त्यस्तो नेता तथा त्यस्तो स्वाभिमानी देशमा फर्केर गई आआफ्नो स्तरबाट देशको सम्वृद्धिमा ईँट्टा थप्ने चाहना धेरै आप्रवासी नेपालीहरुले नराखेका होइनन्, तर फेरि उस्तै घृणित राजनीतिक चाल गर्दै उबेलाको सबैभन्दा राष्ट्रवादी भनाउने पार्टीका अध्यक्षबाट अहिले मुलुक हाँकिएको छ । राजनीतिक क्रान्ति गरी देशको विकास गर्ने भनेर भूमिगत भएका माओवादीको राजनीतिक क्रान्तिको उपज अहिले सर्वत्र भएको छ । देशलाई केही नगरी एक स्थीर सरकार दिन मात्र सके यो बेला, देश स्वतः सम्मुन्नतः हुनेथियो ।

दिन गन्तीको आधारमा राजनीति गर्दै हिँड्नेहरु जस्तै गरी डा. बाबुराम भट्टराईले अब नयाँ शक्ति नेपाल नामक पार्टीको आधारबाट अब अर्को क्रान्ति अर्थात् आर्थिक क्रान्ति गरी देश विकास गर्ने भनेका छन् । prakashkcविगत साक्षी छ, इतिहासमा विगतका घटनाहरु अक्षरशः भइसकेका छन् । आम नेपाली खासगरी जनजातिहरुमा जातिवादी विसंगत घोली राजनीति गरिसकेका भट्टराई अहिले अन्य मुलुकहरुमा जिउनीको जेनतेन जोहो गरिरहेकाहरुलगायत ती देशहरुका नागरिक भइसकेकाहरुका मनहरुमा खेल्न खोज्दैछन् । तर विदेशमा जीवनयापन गर्दै आएका नेपालीहरु भने भट्टराईलाई एक विशेष व्यक्ति अर्थात् सेलिब्रिटीको रुपमा सम्मान गरिरहेका छन् र उनका उही परिभाषा तथा प्रयायका मन्तव्यहरुमा मन्त्रमुग्ध हुँदैछन् । नेपालीहरुको चारित्रिक मानसिकता र विरोधाभास नीतिगत आचरण पनि बुझिनसक्नुको छ ।