११ बैशाख २०८१, मंगलवार
Follow Us

सरकारको आर्थिक प्याकेज पछि वेलायतको घरजग्गा कोरोवार के हुन्छ?

नेपालब्रिटेन डट कम्
२५ असार २०७७, बिहीबार १३:१९


रेष्टुरेन्टमा खाएको बील सरकारले तिर्ने

लन्डन । कोरोना भाइरसबाट अर्थतन्त्र कमजोर हुने भए पछि वेलायत सरकारले राहतको प्याकेज घोषणा गरेको छ ।

अर्थमन्त्री ऋषि सुनाकले यहाँको अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न बुधबार ३० अर्ब पाउन्ड बराबरको राहत प्याकेजको घोषणा गरे ।

कोरोना महामारीले थलिएको बेलायती अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै सरकारले विशेष प्याकेज ल्याएको बताएको छ ।

मन्त्री सुनाकले घर जग्गा किन्नेहरुलाई ५ लाख पाउण्डसम्मको घर खरिदमा कर नलाग्ने घोषणा गरेका छन ।

वेलायतमा मर्गेज सम्वन्धी काम गर्दै आएका मर्गेज म्याटर (हेज) का प्रमुख ऋषि खनालका अनुसार नयाँ घोषणा पछि पहिलो पटक ५ लाख पाउण्ड सम्मको घर खरिद गर्नेले सरकारलाई कर (स्ट्याम डिउटी) तिर्न पर्दैन् । दोस्रो घर (वाई टु लेट) किन्न चाहनेहरुको लागि पनि सरकारले ८ प्रतिशतबाट कर घटाएर ३ प्रतिशतमा झारेको छ । योजना आगामी मार्च ३१ सम्म रहनेछ । सरकारको पछिल्लो घोषणाले लण्डनवासीहरु बढी लाभान्दित हुने बताएको छ ।

खनालले सरकारको पछिल्लो घोषणाले वेलायतमा घरजग्गाको कारोवार बढ्ने बताए । उनले घरजग्गाको कोरोवार बढे पछि घरजग्गाको भाउमा कुनै कमी नआउने र बजार स्थिर रहने बताए ।

यसअघि १ लाख २५ हजार पाउण्डसम्मको किनबेचमा यस्तो कर लाग्दैनथ्यो भने पहिलोपटक घर किन्नेहरुलाई ३ लाख पाउण्डसम्मको घर खरिदमा कर लाग्दैनथ्यो ।

अर्थमन्त्री सुनाकले कोभिड १९ ले प्रभाव पारेको हस्पिटालिटी, पर्यटन, उड्डयन, होटल तथा रेस्टुरेन्ट, व्यवसायमा मूल्य अभिवृद्धिकर २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने घोषणा गरेका छन् ।

रेष्टुरेन्ट व्यापारलाई ध्यान दिँदै ग्राहकलाई अगस्ट महिनाभर ५० प्रतिशत छुट दिने घोषणा पनि अर्थमन्त्रीको छ ।

यसका साथै युवा रोजगारी बढाउन २ दशमलव १ बिलियन पाउण्डको ‘किकस्टार्ट’ स्किम ल्याउने घोषणा पनि भएको छ । अर्थमन्त्री ऋषि सुनाकले बुधबार संसद्मा उक्त स्किम घोषणा गरेका हुन् ।

उक्त स्किम अहिले बेरोजगार भत्ता लिइरहेका १६ देखि २४ वर्ष उमेरभित्रका युवालाई काममा फर्काउनमा लक्षित छ । बेरोजगारी भत्ता लिइरहेका युवाका लागि सरकारले नै तलब बेहोर्ने गरी ६ महिनाको ‘वर्क प्लेसमेन्ट’ रोजगारी सिर्जना गर्ने पनि घोषणामा छ ।

लकडाउनका कारण व्यवसाय बन्द भई कामदारलाई ८० प्रतिशत तलबको रुपमा सरकारले दिएको फर्लोस्किम भने आउदो अक्टोबरदेखि बन्द गर्ने घोषणा गरिएको छ ।

यसअघि गत मार्चदेखि नै बेलायत सरकारले ३ सय ५० अर्ब पाउन्ड बराबरको विभिन्न प्याकेज ल्याइसकेको हो ।

बेलायत सरकारले महामारीका कारण दोश्रो विश्वयुद्धपछि सबैभन्दा बढी ऋण लिने आकलन छ ।

बेलायतको प्रतिष्ठित अध्ययन निकायहरुले बेलायतको अर्थतन्त्र यस वर्ष करिब १२ प्रतिशतले कमी आउने आकलन गरिसकेका छन् ।