७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नागरिकता विषयमा मन्त्री गुरुङको विवादस्पद अभिव्यक्ति (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ असार २०७७, शनिबार १३:१४

लण्डन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपालमा दोहोरो नागरिकताको व्यवस्था नहुने वताएका छन् ।

गैरआवासीय नेपाली संघ, युकेद्धारा शनिबार आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’विषयक‘भर्चुअल’ बैठकमा बोल्दै दोहोरो नागरिकता दिने सरकारी नीति नभएको बताउँदै उनले नेपाली नागरिकता चाहिएका नेपाल फर्किन सुझाव दिए । उनले सबै नेपालीहरुलाई देशमा फर्किए नागरिकता दिइने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ–संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन ।

मन्त्री गुरुङले कोरोना भाईरसका कारण विदेशबाट फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुनेगरी सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने बताएका हुन् । उनले कोरोना भाईरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भइरहेको पनि बताए ।

मन्त्री गुरुङले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई ‘उद्यमशीलता र उत्पादन’ माजोडने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि स्मरण गराए । उनले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेतृहरुलाई आग्रह गरे ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आय आर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरेकी थिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, यूकेकी अध्यक्ष पुनम गुरुङसहित गैर–आवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरुले कोरोना भाईरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा १ दर्जन भन्दा बढी देशका गैरआवासीय नेपालीहरुको उपस्थिती थियो । कार्यक्रम संयोजन रोजिना राईले गरेकी थिइन् भने कार्यक्रम संचालन पत्रकार निर्मला शर्माले गरेकी थिईन् । संघ महासचिव फडिन्द्र भट्टराई कार्यक्रमको सारअंश प्रस्तुत गरेका थिए ।