१६ चैत्र २०८०, शुक्रबार
Follow Us

खाडी र मलेसियामा अझै ५० हजार उद्धारको पर्खाइमा

नेपालब्रिटेन डट कम्
२९ असार २०७७, सोमबार ०४:५७

कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका २७ हजार ७ सय ८० नेपाली नागरिकलाई नेपाल सरकारले उद्धार गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण रोजगारी गुमाउने तथा बिरामीहरूलाई गत ३२ जेठबाट स्वदेशी र विदेशी एयरलाइन्समार्फत उद्धार गरिएको हो । पहिलो चरणमा नेपाल वायुसेवा निगमले ५८ उडानमार्फत १० हजार ९ सय १२ नेपालीलाई स्वदेश फिर्ता ल्याएको छ । त्यस्तै, हिमालय एयरलाइन्स र अन्य विदेशी एयरलाइन्सहरूले पनि उद्धार उडान गरेर स्वदेश ल्याएका हुन् । उद्धारका क्रममा विभिन्न देशमा मृत्यु भएका १ सय ६१ शवसमेत ल्याइएको छ ।

सरकारले पहिलो चरणको उद्धार सम्पन्न भएसँगै दोस्रो चरणको उद्धार आगामी असार ३१ देखि गर्ने घोषणासमेत गरेको छ । दोस्रो चरणको उद्धार एक साता चल्ने र ४२ उडान गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सेड्युल सार्वजनिक गरेको छ । दोस्रो चरणमा युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गर्ने गरी उडान तालिका तय गरेको छ ।

सिसिएमसीले ६ वटा मुलुकमा हुने उद्धार उडानमा नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलाइन्सले १६ गरी ३२ उडान गर्ने अनुमति दिने निर्णयसमेत गरेको छ । त्यस्तै, विदेशी वायुसेवा कम्पनी एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडानको अनुमति पाएका छन् । असार ३१ देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म हुनेसमेत सिसिएमसीले जनाएको छ ।

सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले मध्यपूर्वलगायत मलेसियामा जोखिममा रहेका नागरिकको तथ्यांक संकलन गरेको थियो । नियोगहरूका अनुसार युएईमा नेपाल फर्कनका लागि १८ हजारले आवेदन दिएका छन् । त्यस्तै, साउदी अरबमा १० हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार ८ सय, बहराइनमा १ हजार र ओमानमा ७ सयले आवेदन दिएका छन् ।

गैरआवासीय नेपाली संघ मलेसियाले कोरोना संक्रमणका कारण विदेशमा समस्यामा परेका नेपालीहरूको निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको टोलीले क्वालालाम्पुरमा रहेको नेपाली दूतावासमा पुगेर राजदूत उदयराज पाण्डेलाई अप्ठ्यारोमा परेका नेपालीको तुरुन्त निःशुल्क उद्धारको मागसहित ८ बुँदे ज्ञापनपत्र बुझाएका छन् । त्यस्तै, जेलमा रहेका नेपालीको उद्धार गरी स्वदेश पठाउन, कोरोनाको समयअगावै कम्पनीद्वारा प्रदान गरिएका र श्रमिकहरूले आफैँ खरिद गरेका विभिन्न एयरलाइन्सको टिकट भएका श्रमिकहरूलाई नेपाल फर्काउन विशेष पहल गर्न संघले माग गरेको छ ।