१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री ओलीले राम नेपालका हुन् भनेपछि भारतमा खैलाबैला

नेपालब्रिटेन संवाददाता
३० असार २०७७, मंगलवार ०४:३१

काठमाडौं । भगवान राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । प्रधानमन्त्रीको भनाइप्रति भारतीय नेताहरुले समेत आपत्ति जनाएका छन् ।

सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन् । उनले भगवान राम आस्थाको विषय भएको भन्दै मानिसहरूले त्योसँग खेल्न छुट नेपालका प्रधानमन्त्री वा अन्य कोहीलाई नभएको बताएका छन् ।

भारतीय सञ्चारमाध्यम पीटीआईले सो अभिव्यक्तिलाई राजनीतिक विवाद उक्साउने भन्दै भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक कदम भनेको छ । भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेको छ ।

एनडिटीभी डट कमले ओलीको अभिव्यक्तिले रामका अनुयायीहरूलाई उत्तेजित पार्ने देखिएको उल्लेख गरेको छ । सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको भन्ने टिप्पणी गरेका थिए ।