१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना महामारी थप खराब र भयावह बन्दै जाने डब्लुएचओको चेतावनी

नेपालब्रिटेन संवाददाता
३० असार २०७७, मंगलवार ०४:५०

जेनेभा । विश्व स्वाथ्य संगठन डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने चेतावनी दिएको छ । सरकारहरु प्रभावकारी प्रयास गर्न सफल नभएमा संक्रमण अझै फैलने डब्लुएचओको भनाइ छ ।

डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम धेरै देशहरु कोरोना नियन्त्रणको खराब दिशामा गइरहेको भन्दै चिन्ता जनाएका हुन । जेनेभमा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताएका हुन् ।

विश्व नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनको भनाइ छ । भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए ।

उनले निकट भविष्यमा विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना नदेखिएको पनि स्पष्ट पारे । आधारभूत नियमहरु मानिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुने उनको चेतावनी छ । संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गर्ने देशहरुमा संक्रमण फैलदो क्रममा रहेको उनको भनाइ छ ।

पछिल्लो समयमा उत्तर र दक्षिण अमेरिकामा संक्रमण फैलदो क्रममा देखिएको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ७१ हजार ८ सय भन्दा धेरैको मृत्यु भएको छ ।