१२ बैशाख २०८१, बुधबार
Follow Us

ओली-दाहाल ‘वान टु वान’ छलफलमा

नेपालब्रिटेन संवाददाता
३० असार २०७७, मंगलवार ०९:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल सत्तारुढ नेकपाभित्रको बढ्दो अन्तरविरोधलाई मत्थर पार्ने उपायको खोजीमा जुटेका छन् । निकासका लागि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ छलफल भइरहेको छ ।

पार्टीमा विवाद बढ्दै गएपछि साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित भएको थियो । त्यसपछि आन्तरिक किचलो मिलाउन दुई अध्यक्षबीच कहिले ‘वान टु वान’ त कहिले सहयोगीका साथ संवाद चलिरहेको छ ।

यसअघि दुवै अध्यक्षले तीन दिन एक्लाएक्लै वार्ता गरिसकेका छन् । नेताहरुले पछिल्लो समय पार्टी विवाद मिलिसकेको बताउने गरे पनि कुन–कुन विषयमा सहमति भयो भन्ने विषय बाहिर आएको छैन ।

स्थायी समिति बैठकमा सदस्यहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

सहमतिका लागि भन्दै स्थायी समिति बैठक साउन २ गते सम्मका लागि स्थगित भएपनि शनिबार यता दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन । आगामी २ गते बैठक बस्नु अघि दुई अध्यक्षबीच सहमति भएन भने नेकपा भित्रको अन्यौलता बढेर जाने छ । सरकार सञ्चालनदेखि पार्टी व्यवस्थापनसम्ममा सहमति खोज्दा परिणाम आउन ढिलाइ भइरहेको नेताहरुले बताएका छन् ।