१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा कोरोना संक्रमण दर घट्दो

नेपालब्रिटेन संवाददाता
३१ असार २०७७, बुधबार १५:२७

काठमाडौ । नेपालमा कोरोना भाइरस संक्रमणवाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुष रहेका छन । उनको आज दिउसो चितवनको नारायणी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको हो ।

उनी असार २४ गते नेपाल फर्केर क्वारन्टीनमा बसेका थिए । असार २९ गते ज्वरो आई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी कोरोना संक्रमणवाट मृत्यु भएको आफन्तको अन्तिम संस्कारका लागि भारतमा गएर फर्केका थिए ।

योसँगै कोरोना संक्रमणवाट नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । नेपालमा थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ । संक्रमित मध्ये ११ हजार २५ जना अर्थात् ६४.२ प्रतिशत निको भएर घर फर्केका छन । विगत २४ घण्टामा ६ सय ९७ जना निको भएर घर फर्किएका छन ।

अहिले देशभरका आइसोलेसनमा ६ हजार १ सय १३ संक्रमितको उपचार भैरहेको छ । विगत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९० वटा परीक्षण भएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या २ लाख ९८ हजार ८ सय २९ पुगेको छ । देशका विभिन्न स्थानका क्वारेन्टिनमा बस्नेहरुको संख्या घटदै गएको छ । अहिले क्वारेन्टिनमा २४ हजार ५ सय २७ जना बसिरहेका छन ।