१२ बैशाख २०८१, बुधबार
Follow Us

बलात्कार आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
३१ असार २०७७, बुधबार १५:३०

काठमाडौं ।सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् । युवतीको मौखिक उजुरीका आधारमा सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको हो । त्यसबाहेक विस्तृत बाहिर ल्याइएको छैन ।

आज अपराह्न २.३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक महिलाले आफूमाथि बलात्कार सम्बन्धमा मौखिक उजूरी दिएकी थिइन् । कास्की प्रहरी प्रवक्ता सुवास हमालले कन्ट्रोल रुममा घटनाका बारेमा जानकारी आएलगत्तै कास्की प्रहरी परिचालन गरी अधिकारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक हमालका अनुसार अधिकारीलाई लामापाटन तालीम केन्द्र परिसरबाटै पक्राउ गरिएको हो । चितवनकी अन्दाजी ३० वर्षीया महिलालाई अधिकारीले आफ्नै आवासमा खाना खान बोलाएको र उक्त हर्कत गरेको हुन सक्ने प्रारम्भिक बयानबाट देखिएको छ ।

अभियुक्त अधिकारी मङ्गलबार मात्र प्रहरी प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए । साउन १ गते तोकिएका ठाउँमा हाजिर हुनु एक दिनअघि उनी सो घटनामा मुछिएका छन् । उक्त घटनामा महिलाले लिखित जाहेरी दिएको र अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।