१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निजी स्कुलद्वारा संचालित अनलाइन कक्षा बिहीबारबाट बन्द

नेपालब्रिटेन संवाददाता
३१ असार २०७७, बुधबार १५:४०

काठमाडौं । लकडाउन अबधिमा संचालित अनलाइन कक्षा निजी विद्यालयहरुले साउन १ बाट बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । सरकारले आफ्नो माग सम्बोधन गरेको दिनबाट फेरि कक्षा संचालन गर्ने प्याब्सनले जनाएको छ ।

प्याब्सन तथा नेसनल प्याब्सनले ७ असारमा नियमित अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरि शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरुलाई आह्वान गरेपनि सरकारले अनलाइन कक्षाका नाममा शुल्क नदिन निर्देशन दिएको थियो । यस्तो अवस्थामा विद्यालयका प्रशासनिक कार्यालयहरु खोलेर गतिविधि सञ्चालन गर्नुभन्दा बन्द गरेर बस्नु नै उचित विकल्प भएको दुबै संगठनले संयुक्त वक्तव्यमा उल्लेख छ ।

अब सरकारले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः दिने निजी विद्यालयहरुले बताएका छन् ।