August 5, 2020
10:37 PM | 3:22 AM

क्वाटरमा लगेर महिला बलात्कारको अभियोगमा एसएसपी पक्राउ

  16/07/2020 मा प्रकाशित

पोखरा । सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

एसएसपी अधिकारीले खाना खान बोलाएर क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै चितवनकी एक युवतीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको हो ।

चितवन घर भएकी २७ वर्षीया एक युवतीलाई खाना खान बोलाएर बलात्कार गरेको भन्ने मौखिक उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एसएसपी अधिकारीले लामापाटनस्थित आफ्नै क्वाटरमा ती युवतीलाई बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधि खुलाएर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त घटना सार्वजनिक भएपछि गण्डकी प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठसमेत घटनास्थलमा पुग्नुभएको थियो ।

घटनाको बारेमा महिलाले प्रहरीलाई जानकारी गराउनसाथ एसएसपी अधिकारी भने भागेर महिला ब्यारेकको पछाडि रहेको मकैबारीमा सुतिरहेको अवस्थामा सशस्त्र प्रहरी बलकोे टोलीले पक्राउ गरेको थियो । उनी मदिराले लट्ठ भएर मकैबारीमा लडिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।

चितवनबाट बुधबार नै एसएसपी अधिकारीको क्वाटरमा पुगेकी ती महिला सिधै उनको बेड रुममा पुगेकी थिइन् । बिहान ९ बजे एसएसपी अधिकारीको बेडरुममा पुगेकी ती महिलाले २ बजे प्रहरीलाई खबर गरेकी थिइन् । दुवै मिलेर मदिरा सेवन गरेको देखिन्छ, त्यसपछि बलात्कार भयो भएन भन्नेबारेमा अस्पतालको रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जानकारी दिएको समाचारपत्रले जनाएको छ।

प्रतिक्रिया