६ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वअमेरिकी राष्ट्रपति ओबामादेखि बिल गेट्ससम्मका ट्वीटर ह्याक

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७७, बिहीबार ०३:३१

न्यूयोर्क । एउटा समूहले विश्वका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर खाताहरू ह्याक गरेको छ । यसअघिको बिटक्वाइन काण्डको झल्को आउनेगरि संगठित रुपमा साइबर आक्रमण भएको हो ।

साइबर आक्रमणबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्रेटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर एकाउन्ट प्रभावित भएका छन् । त्यस्तै उबर र एपलजस्ता संस्थाहरू समेत आक्रमणमा परेका छन् ।

आक्रमणकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्वीटर खातालाई दशौँलाखले पछ्याएका छन् । ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको छ ।

सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ । आक्रमणकारीले टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्वीटरमा ’आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जतिपनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखेका थिए । ती ट्वीटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए । आक्रमणमा परेका ट्वीटर खाताहरूबाट अहिले थप ट्विट गर्न रोकिएको छ ।

बिटक्वाइन दोब्बर पार्ने काण्ड ट्वीटरमा पुरानै समस्या हो । तर ठूलो संख्यामा सार्वजनिक व्यक्तिका खाता ह्याक गरिएको यो घटनालाई भने अनेपेक्षित भनिएको छ । यसले ट्विटरकै समस्या समेत देखाएको छ । ट्वीटरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।