६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए मलेसियाका महासचिव सापकोटा सर्वसाधारण ठगिमा मुछिए

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७७, बिहीबार २०:०८

काठमाडौँ  । सरकारले वैधता दिएको नेटवर्किङ व्यवसायमा पूर्वप्रहरीदेखि पूर्वमहान्यायाधिवक्तासम्मको संलग्नता रहेको पाइएको छ । विगतमा हजारौं सर्वसाधारण ठगिएको उक्त धन्दामा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका महासचिव र राजनीतिक दलका नेताको समेत साथ रहेको भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट असार १७ मा इजाजतपत्र पाएको नेचर हर्ब्स इन्टरनेसनलमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छवि जोशी उपाध्यक्ष छन् । जोशीले जेठ १४ मा उपाध्यक्ष पद सम्हालेको हर्ब्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यति मात्र होइन, कम्पनीले साताअघि सार्वजनिक गरेको ग्लोबल प्लान कार्यक्रममा जोशी पनि उपस्थित थिए । ‘एक उत्कृष्ट प्लेटफर्मको खोजीमा थिएँ । अहिले सन्तुष्ट छु । धेरै समयपछि कानुन आयो । सबैको सपना साकार हुने भएकाले आबद्ध भएको छु,’ गुरुपूर्णिमाका दिन नेचर हर्ब्सले आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, ‘कोभिड–१९ बाट रोजगारी गुमाएका र विदेशबाट फर्केका लाखौंलाई हामीले रोजगारी दिन सक्छौं ।’

पूर्वडीआईजीसँगै नेचर हर्ब्समा पूर्वमहान्यायाधिवक्ता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख बाबुराम कुँवर पनि आबद्ध छन् । वरिष्ठ अधिवक्तासमेत रहेका उनी नेचर हर्ब्सका वरिष्ठ सल्लाहकार हुन् । यसका सञ्चालक भने गितेन्द्रबहादुर राई हुन् । विगतमा हर्बोका नाममा हजारौं सर्वसाधारणलाई ठगी गरेपछि व्यवसाय बन्द थियो । तर कम्पनीले नाम परिवर्तन गरेर कारोबार गरिरहेको स्रोतको दाबी छ । उक्त कम्पनीमा भएका प्रायः सदस्य हर्बोको नेतृत्व तहमा छन् ।

‘विगतमा ठगी धन्दामा थिए उनीहरू, नेपालमा प्रतिबन्ध भएपछि नाम परिवर्तन गरेर अदृश्य रूपमा संस्था सञ्चालन गरे,’ स्रोतले भन्यो, ‘अहिले त्यही धन्दालाई राज्यले मान्यता दिएको छ ।’

नेचर हर्ब्स अन्तर्राष्ट्रिय कम्पनी हो । यसको सञ्जाल सिंगापुर, मलेसिया, हङकङ, कतार, यूएई, भारत र नेपालसम्म छ । स्रोतका अनुसार यो कम्पनीले मलेसियामा पनि हजारौं नेपालीलाई सदस्य बनाएर ठगेको थियो ।

‘मलेसियामा ठगी गरेपछि त्यहाँस्थित नेपाली दूतावासमा उजुरी परेको छ,’ स्रोतले भन्यो, ‘हर्बो नाम परिवर्तन गरेर नेचर हर्ब्सका नाममा पैसा लुटिएको छ । यसका पछाडि धेरै ठूलो समूह छ ।’ स्रोतका अनुसार नेचर हर्ब्स मलेसियाका मुख्य लिडर हेमराज सापकोटा हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका महासचिव हुन् ।

विभागबाट असार १६ मा इजाजत पाएको आइबोस ग्लोबल इन्टरनेसनल प्रालिकी संस्थापक सरिता गुनी हुन् । उनका श्रीमान् काभ्रेका राजकुमार दंगाल हुन् । दंगाल ४ वर्षअघि गैरकानुनी नेटवर्किङ व्यवसायमा आबद्ध रहेको भन्दै पक्राउ परेका थिए । प्रहरीले उनीमाथि अनुसन्धान गर्दा आपराधिक गिरोहसँगको कनेक्सन फेला पारेको थियो ।

‘अहिले दंगालकी श्रीमतीका नाममा कम्पनीले इजाजतपत्र पाएको छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘आइबोसमै पूर्वएआईजी हेमन्त पाल पनि सञ्चालक छन् । अन्य आपराधिक गिरोह पनि छन् ।’

यसैगरी न्यु विवेक इन्टरप्राइजेज प्रालि (डीएक्सएन नेपाल) ले असार १९ मा इजाजत पाएको थियो । यो अन्तर्राष्ट्रिय कम्पनी हो । यसका प्रडक्ट विश्वभर फैलिएका छन् । नेपालको हकमा न्यु विवेक इन्टरप्राइजेजमार्फत काम गर्दै आएको छ । डीएक्सएन नेपालका एक सञ्चालक भीमसेन गुरुङ हुन् । उनी राप्रपाका केन्द्रीय सदस्य छन् ।

कान्तिपुरका अनुसार हेल्दी लिभिङ नेपाल प्रालिले असार १९ मा अनुज्ञापत्र पाएको थियो । यो कम्पनीका सञ्चालक टेम्पा शेर्पा हुन् । यो भारतीय भेस्टिज कम्पनी हो । स्रोतका अनुसार नेपालमा प्रतिबन्ध हुँदा पनि कम्पनीले अदृश्य रूपमा काम गरिरहेको थियो । ‘विभिन्न नाममा विदेशी प्रडक्ट बेच्ने कम्पनी हो,’ स्रोतले भन्यो ।