१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा कोरोना भाइरसविरुद्ध खोप निर्माण हुदै

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७७, बिहीबार ०५:०१

लन्डन । कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

रोयटर्सले बेलायती टेलिभिजन नेटवर्क ‘आइटिभी’ का राजनीतिक सम्पादक रोबर्ट पेस्टनलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

‘अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोना खोपमा छिट्टै सकारात्मक खबर सुन्न पाइने छ,’ रोयटर्सले उद्धृत गरेको पेस्टनको ब्लगमा उल्लेख छ।

तेस्रो चरणको मानवीय परीक्षण क्रममा रहेको यो खोपलाई लिएर निर्माताहरू उत्साहित छन्। उनीहरूले यसै महिना अहिलेसम्मको परीक्षणबाट आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका थिए। यसले परीक्षणमा सहभागी व्यक्तिहरूमा कोरोना भाइरसविरूद्ध प्रतिरोधक क्षमता बढाउन सकारात्मक काम गरेको उनीहरूले बताएका छन्।

पहिलो चरणको परीक्षण नतिजा जुलाई अन्त्यसम्म सार्वजनिक हुने रोयटर्सले लेखेको छ। पहिलो चरणको क्लिनिकल परीक्षण क्रममा बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो। यसको नतिजा ‘ल्यान्सेट’ भन्ने मेडिकल जर्नलले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

अक्सफोर्ड विश्वविद्यालयकी प्रवक्ताले नतिजा प्रकाशन निम्ति मेडिकल जर्नलको निर्णय कुरिरहेको बताएकी छन्। ‘कहिले प्रकाशन हुन्छ भनेर अहिल्यै भन्न सकिन्न,’ उनले रोयटर्सलाई भनेकी छन्।

संसारभरि कोरोना भाइरसविरूद्ध सयभन्दा बढी खोप परीक्षण भइरहेका छन्। तीमध्ये अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाको अनुसन्धानलाई अग्रणी मानिएको छ। यो अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले समेत एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमा लिइएको छ।

यो लगानीको बदलामा अमेरिकाले परीक्षण सफल हुनेबित्तिकै ३० करोड वटा खोप आफ्नो निम्ति बुक गरेको छ।

महामारीको पछिल्लो अवस्था हेर्दा संसारभरि अर्बौं डोज खोप आवश्यक पर्नेछ। विश्वव्यापी माग हेरेर बेलायती–स्वीडिस कम्पनी आस्ट्राजेनेकाले अनुसन्धान सँगसँगै उत्पादन क्षमता विस्तार गर्न विभिन्न देशका सरकार तथा संस्थाहरूसँग सम्झौता गरेको छ।

कम्पनीको उत्पादन क्षमता अहिले नै एक अर्ब डोज छ भने पहिलो चरणमा कम्तिमा ४० करोड डोज उत्पादन गर्नेछ। पहिलो खेपको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने कम्पनीले दाबी गर्दै आएको छ।

विश्वभरि सस्तो र सहज रूपमा खोप उपलब्ध होस् भनेर आस्ट्राजेनेकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि विभिन्न देशका औषधि उत्पादक कम्पनीहरूसँग सम्झौता प्रक्रिया अघि बढेको छ। यसमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया पनि एक हो। उक्त कम्पनीले गरिब तथा विकासोन्मुख देशहरूमा खोप उपलब्ध गराउनेछ।

अमेरिकाको बायोटेक कम्पनी ‘मोडर्ना’ ले पनि आफूले परीक्षण गरिरहेको खोप सुरक्षित रहेको र भाइरसविरूद्ध प्रतिरोधात्मक क्षमता बढाउन सफल भएको जनाएको छ। मोर्डनाले क्लिनिकल परीक्षण क्रममा ४५ जना स्वस्थ व्यक्तिलाई कोरोनाविरूद्ध खोप दिएको थियो।

मोर्डनाले गत मे महिनाबाट दोस्रो चरणको परीक्षण सुरू गरेको हो। तेस्रो चरणको परीक्षण जुलाई २७ बाट सुरू हुने कम्पनीले जनाएको छ।