September 23, 2020
1:56 AM | 6:41 AM

कांग्रेस अनुशासन समितिद्वारा २९९ जनालाई कारबाही, सामाजिक सञ्जालमा लेख्नेलाई कारबाही गर्ने निर्णय

  16/07/2020 मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णयविरुद्ध निर्वाचनमा लाग्नेलाई कांग्रेसले उजुरी खोलेर कारबाही गर्दै आएको छ ।

समिति गठन भएयता विगत १५ महिनामा ४१ पटक समितिको बैठक बसिसकेको छ भने यसबीचमा २ सय ९९ जना कारबाहीमा परेका छन् ।

तर, यस्ता अधिकांश उजुरीमा तल्ला तहका नेता कार्यकर्ता मात्रै कारबाहीमा परेको समितिका सदस्यहरु बताउँछन् । समितिमा आएका उजुरीमध्ये १ हजार ५२ जनालाई समितिले स्पष्टीकरण सोधेको छ । यस्तै, २ सय ९९ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

ती कारबाहीको प्रकृति हेर्दा तल्ला तहका नेता कार्यकर्ता मात्रै बढी कारबाहीमा परेका छन् । कार्यविधिअनुसार उजुरी नआएको भन्दै उपल्लो तहका नेताहरूमाथि भने कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले भने पार्टी नेतृत्वमा सहमति भएअनुसार नै समितिको कार्यविधि बनेको र सोहीअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए ।

‘सहमतिबाट नै कारबाहीको प्रक्रिया अघि बढाउने भन्ने छ । त्यहीअनुसार नेतृत्व तहमा भएका छलफल र सहमतिपछि नै कारबाही अघि बढेका छन्,’ समितिक संयोजक आङ्दम्बेले राजधानीसँग भने ।

अनुशासन समितिको कार्यविधि नै उजुरी पठाउँदा तहगत रूपमा कारबाही सिफारिस भएर आउनुपर्ने भएका कारण पार्टीका शीर्ष नेताविरुद्ध सिधै आएका उजुरीका विषयमा समितिले कुनै चासो देखाएको छैन ।

समितिका एक सदस्यले शीर्ष तहका नेताविरुद्ध पनि उजुरी आएको तर सहमति त्यतातर्फ केन्द्रित नभएको बताए ।
‘सभापति शेरबहादुर देउवा, नेता गोविन्दराज जोशी, कैलालीका नेता पुष्कर ओझा र समितिका सदस्य नै रहेका नेता देवेन्द्रराज कँडेलविरुद्ध समेत उजुरी आएको छ तर कार्यविधिले त्यता हेर्दैन, सहमतिका कुरा पनि छन्,’ ती नेताले भने ।

समितिले हालसम्म गरेका कारबाही हेर्दा तल्लो तहका नेताविरुद्धका उजुरीउपर छानबिन भई कारबाही भइरहेको छ । अनुशासन समितिका सचिवसमेत रहेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले उजुरी पठाउँदा तहगत रूपमा नै प्रमाण र आधारसहित पठाइएका उजुरीउपर मात्रै कारबाही प्रक्रिया अघि बढेको तर शीर्ष नेताविरुद्ध समितिमा कुनै उजुरी नआएको उनको दाबी छ ।

उनले तहगत रूपमा सिफारिस भएर आएका उजुरीलाई मात्रै समितिले गतिलो आधार मान्ने तर कसैले व्यक्तिगत रूपमा नेताका विरुद्ध दिएका उजुरीलाई समितिले नहेर्ने बताए । केसीले समितिलाई प्राप्त बाँकी उजुरी छानबिनकै क्रममा रहेको समेत जनाए ।

सभापति देउवाविरुद्ध गोरखाका नेता राजेन्द्र बजगाईंले उजुरी दिएका थिए भने समितिमा सदस्य रहेका कँडेलविरुद्ध उनकै जिल्लामा उजुरी परेको थियो ।

कांग्रेसले ४ चैत २०७५ मा नेता भिष्मराज आङ्दम्बेको नेतृत्वमा अनुशासन समिति बनाएको थियो । समितिको पहिलो बैठकले पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्ने र बोल्नेलाई कारबाही गर्ने निर्णय गर्दै कांग्रेसका नेताहरुलाई सार्वजनिक स्थलमा जथाभावी बोल्न, लेख्न र पार्टी हितविपरीत एकअर्काबीच आरोप प्रत्यारोपमा नलाग्न निर्देशन दिएको थियो ।

बैठकले पार्टी हितविपरीत गतिविधि लिखितरुपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमा सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया